२०८१ जेठ ६ , आइतवार

कृत्रिम गर्भाधान गराउने पशुको सङ्ख्या बढ्दो

सुनाखरी न्युज/ काठमाडौं । पशुहरूमा कृत्रिम गर्भाधान गराउने क्रम बढ्दो रहेको छ । विगतका वर्षहरूको तुलनामा गत आर्थिक वर्षमा कृत्रिम गर्भाधान गराउने पशुको सङ्ख्या बढेको हो ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षमा ५९ हजार ५७ पशुमा कृत्रिम गर्भाधान गराइएको छ । कार्यालयको तथ्याङ्कअनुसार ५४ हजार पाँच सय तीन गाई, चार हजार एक सय ५४ भैँसी र चार सय बाख्रामा कृत्रिम गर्भाधान गराइएको हो । जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार नौ सय ७८ भैँसी पालिएको तथ्याङ्क रहेको छ । बाख्रा तीन लाख १२ हजार पालिएको छ ।

कार्यालयका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यका अनुसार कृत्रिम गर्भाधान गराइएका गाईमा ५६ दशमलव १२ प्रतिशत र भैँसीमा ८४ दशमलव ०२ प्रतिशत गर्भाधान दर रहेको छ । उहाँका अनुसार आव २०७८/७९ मा ५८ हजार छ सय ७६ पशुलाई कृत्रिम गर्भाधान गराइएको थियो । आव २०७७/७८ मा ५६ हजार दुई सय २१ गाईभैँसीमा कृत्रिम गर्भाधान गराइएको उहाँले जानकारी दिनुभयो ।

गाईमा जर्सी र होलस्टेन एवं भैँसीमा मुर्राको ब्लड लेबलसम्म पुर्याउने उद्देश्यका साथ कृत्रिम गर्भाधान गराउन थालिएको हो । स्थानीय जातका गाईभैँसीमा उत्पादन कम हुने भएकाले कृत्रिम गर्भाधानबाट दूध उत्पादन बढाउन सहयोग पुग्ने गरेको आचार्यले बताउनुभयो । उहाँका अनुसार कृत्रिम गर्भाधानले नातागोता प्रजनन् रोक्न यो कार्यक्रम सञ्चालन गरिएको हो । कृषकलाई साँढे र राँगो पाल्नुपर्ने बाध्यताबाट हटाउन र सरुवा रोगको खतरा कम गर्न कृत्रिम गर्भाधानले सहयोग गर्ने गरेको उहाँले बताउनुभयो । रासस