२०८१ बैशाख २१ , शुक्रवार

पल शाहसंगको अन्तर्वार्तापछि बन्द भयो सन्दीप क्षेत्रीको कार्यक्रम

सुनाखरी न्युज /  काठमाडौं  – कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द गरेको छ । कलाकार समेत रहेका सन्दीप क्षेत्रीले सञ्चालन गरेको उक्त कार्यक्रम विवादमा तानिएपछि टेलिभिजनले यस्तो निर्णय लिएको हो । उक्त कार्यक्रमअन्तर्गत गत असार २३ गते सञ्चालक सन्दीप क्षेत्रीले अभिनेता शाहसँग अन्तर्वार्ता लिएका थिए।

 

जसमा उनीहरूलेबलात्कारजस्तो गम्भीर र संवेदनशील विषयलाई हाँसी मजाकको विषय बनाएको भन्दै जनस्तरबाट व्यापक आलोचना भएको थियो। त्यसपछि कान्तिपुर टीभीले उक्त अन्तर्वार्ता युट्युबबाट हटाएको थियो। तिब्र विरोधभएपछि कान्तिपुर टेलिभिजनको यूट्युब च्यानलबाट उक्त कार्यक्रम हटाइएको थियो ।

 

आज बिहीबार भने टेलिभिजनले एउटा सूचना नै जारी गर्दै उक्त कार्यक्रमको प्रसारण नै बन्द गरिएको जानकारी दिएको हो । ‘‘गत असार २३, शनिबार प्रसारित ‘ह्वाट द फ्लप’ मा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो सम्पादकीय नीतिविपरीत रहेकाले उक्त भिडिओ हामीले युट्युबबाट हटाइसकेका छौँ’, कान्तिपुर टीभीले भनेको छ– ‘महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौँ । चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने विश्वास दिलाउँर्छौँ ।’