२०८१ बैशाख २३ , आइतवार

भन्सारबाट उम्किसकेपछि बरामद भएको क्विन्टल सुन कसको ?

Gold

सुनाखरी न्युज/ काठमाडौं ।

अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पुर्‍याइएको करिब एक क्विन्टल सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको हो भने भन्सारका अधिकारीहरूमाथि प्रश्न उठेको छ ।

क्याथे प्यासेफिकको उडानमा मंगलबार राति १० बजे हङकङबाट आएको  स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको थियो । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना रहेको अधिकारीहरूको भनाइ छ । यसअघि ०७४ भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ केजी सुनसहित काठमाडौंको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए ।

 

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन बरामद भएको र केही व्यक्ति पक्राउ परेको पुष्टि गरे । ‘थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘धेरै तथ्य खुल्न बाँकी नै भएकाले विस्तृतमा अहिल्यै भन्न सक्ने अवस्था छैन ।’

भन्सार कार्यालयले निर्वाध रूपमा सुन पास गरिदिएको थियो । ‘आठवटा कार्टुन बक्सामा ल्याइएका स्कुटरका १ सय ६० वटा ब्रेक सुको जाँचपास भन्सार कार्यालयले गरेको थियो । जसको तौल १ सय ५४ केजी उल्लेख छ । यस आधारमा करिब एक क्विन्टल सुन हुनुपर्छ भन्ने अनुमान गरेका हौं,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘सामान जाँच गर्ने स्क्यानरले कसरी पत्ता लगाएन ? सम्भावित सेटिङबारे अनुसन्धान हुँदै छ ।’

 

विभाग स्रोतका अनुसार विमानस्थल भन्सार कार्यालयबाट ठूलो मात्रामा सुन चोरीपैठारी हुन लागेको सूचना राजस्व अनुसन्धान विभागलाई १० दिनअघि नै प्राप्त भएको थियो । ‘हामीले विशेष टोली बनाएर काम गरिरहेका थियौं,’ स्रोतले भन्यो, ‘सुन समातिएको छ, प्रारम्भिक अनुसन्धानमा ५ जना पक्राउ परे पनि थप योजनाकारको खोजी गरिरहेका छौं ।’ अनुसन्धानका लागि भन्सार जाँचपास गराउने कर्मचारी तानिने छन् ।

बुढानीलकण्ठ ठेगाना उल्लेख गरिएको ‘रेडी ट्रेडर्स प्रालि’का नाममा विमानस्थल भन्सारले जाँचपास हुन लागेको सामान शंकास्पद रहेको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोली विमानस्थल पुगेको थियो । जाँचपासपछि सुन लिएर ट्याक्सीबाट बाहिरिएका दुई जना सिनामंगलमा समातिएका हुन्, पछि तीन जना पक्राउ परेका छन् । ‘सुनको बिस्कुटको आकार बिगारी स्कुटरको ‘ब्रेक सु’ भित्र कभर गरेर ल्याएको देखिन्छ । भन्सारमा भने स्कुटरको ब्रेक सु भन्ने घोषणा गरिएको छ,’ अनुसन्धानमा संलग्न अधिकारीले भने ।

 

भन्सार जाँचपास गरेर विमानस्थलबाट बाहिर ल्याइएको सुन बरामद भएपछि मंगलबारै भन्सार एजेन्टसँग केरकार गर्दा अरू दुई जनाको नाम खुलेको थियो । त्यसपछि बुधबार बुढानीलकण्ठबाट एक जना र जोरपाटीबाट अर्का व्यक्तिलाई पक्राउ गरेको विभाग स्रोतले जनाएको छ । मंगलबार बरामद गरिएको सुन नक्कली फर्म खडा गरी त्यसकै नाममा प्रज्ञापनपत्र खोलेर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘रेडी ट्रेडर्स प्रालि’ का सञ्चालक दिलीप भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई, सहयोगीको आशंकामा रामकुमार भुजेल, हर्क राई र ट्याक्सी चालक अशोक लामा पक्राउ परेका हुन् । पाँचै जनालाई विभागको हिरासतमा राखिएको छ ।

 

यसअघि विमानस्थलबाटै भित्रिएको तस्करीको सुन कारोबारीसँग हालै माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुलको समेत नाम मुछिएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।