२०८१ जेठ ३ , बिहिवार

नवलपरासी बर्दघाट–सुस्तापूर्व मा सवारीसाधन दुर्घटनामा कमी

सुनाखरी न्युज / काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । पछिल्लो पाँच वर्षको तथ्याङ्क अनुसार दुर्घटनामा मानवीय क्षति पनि कम भएको पाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार पूर्वपश्चिम राजमार्ग विस्तारसँगै दुर्घटनामा कमी आएको छ । आर्थिक वर्ष २०७९÷८० मा ७५ सवारीसाधन दुर्घटना हुँदा २९ जनाको ज्यान गएको थियो । आर्थिक वर्ष २०७५÷७६ मा एक सय १८ सवारीसाधन दुर्घटनामा परी ७० जनाको मृत्यु भएको थियो ।

यस्तै आव २०७६÷७७ मा ९५, आव २०७७÷७८ मा ६४ र आव २०७८÷७९ मा ३९ सवारीसाधन दुर्घटना भएका थिए । दुर्घटनामा परी आव २०७६÷७७ मा ५४, आव २०७७÷७८ मा ४६ र आव २०७८÷७९ मा ४१ जनाको ज्यान गएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । जिल्लामा पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैँडाकोटदेखि दाउन्नेसम्म ६८ किलोमिटर सडक पर्छ ।

“सडक विस्तार हुनुअघि दुर्घटनाको दर बढी थियो”, उहाँले भन्नुभयो, “सडक विस्तार गर्दा दुर्घटनामा कमी आएको छ ।” अधिकांश दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएको छ । सडकको अवस्था र चालकको लापरबाहीका कारण पनि दुर्घटना अत्यधिक हुने गरेको उहाँको भनाइ छ । सवारीसाधन दुर्घटना कमी ल्याउन सचेतना कार्यक्रम, ट्राफिक सप्ताह, सुरक्षा जाँच वृद्धिलगायतका काम गर्दैआएको पौडेलले बताउनुभयो ।

“सवारीसाधनको अवस्था तथा चालकको स्वास्थ्य परीक्षणसमेत गर्ने गरेका छाँै”, उहाँले भन्नुभयो । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शैक्षिक संस्थामा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिँदै आएको छ । रासस