२०८३ जेठ ६ , बुधवार

काठमाडौंको फोहोर विसर्जनमा आज पनि अवरोध

सुनाखरी न्युज / काठमाडौं । काठमाडौंको फोहोर विसर्जनमा आज पनि अवरोधभएको छ । बञ्चरेडाँडाका स्थानीयले ल्यान्डफिल्ड साइटमा मंगलबार पनि फोहोर फाल्न अवरोध गरेका छन् । स्थानीयको अवरोधका कारण काठमाडौं महानगरबाट फोहोर बोकेको कुनैपनि गाडी ल्यान्डफिल्ड साइट नगएको फोहोर मैला व्यवस्थापन संघले जनाएको छ ।

 

बञ्चरेडाँडा र सिसडोलका स्थानीयहरुले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै नयाँ आर्थिक वर्ष सुरु भएकै दिन सोमबारदेखि फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीहरुलाई बाटोमै रोकेका थिए । बञ्चरेडाँडा र सिसडोलका स्थानीयले फोहोर विसर्जन गर्न अवरोध गरेपछि फोहोर मैला व्यवस्थापन संघले अदालतमा रिट दर्ता गरेको थियो । सर्वोच्च अदालतले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने टिपरसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर, आदेशको अवज्ञा गर्दै स्थानीयले फोहोर बोकेर जाने गाडीमा अवरोध गरेका हुन् ।

 

नुवाकोटको ककनी गाउँपालिका-३ का वडाध्यक्ष घननाथ बजगाईंले फोहोर फाल्ने स्थान र मानव बस्तीहरु छुट्याउनुपर्ने आफूहरूको माग रहेको बताए । उनले आफूहरूको माग पुरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने बताए । काठमाडौं उपत्यकाबाट दैनिक फोहोर बोकेको करिब ३८० वटा ट्रक बञ्चरेडाँडा जाने महानगरले जनाएको छ ।