२०८१ बैशाख २६ , बुधवार

बालबालिकाको मोबाइल फोन प्रयोग गर्ने लत कसरी छुटाउने ? टिप्स सहित

सुनाखरी न्युज /  काठमाण्डौ- आजभोलि बच्चाहरूमा स्मार्ट मोबाइल फोन चलाउने लत बसेको छ । खाना खुवाउन, खेलाउन, सुताउन तथा विविध काम गर्न मोबाइल फोन दिने गरिन्छ । अभिभावकको टाउको दुखाइका रूपमा मौलाइरहेको मोबाइल फोन अहिलेका बालबालिकाका लागि अपरिहार्य भैसकेको तर्क धेरै अभिभावकको रहेको पाइन्छ।यसले बच्चामा विभिन्न समस्या देखिने गरेको छ । पछिल्लो अध्ययनअनुसार १३ वर्षमुनिका बच्चा डिजिटल टेक्नोलोजीसँग धेरै नजिक रहेका छन् ।

 

जसले गर्दा उनीहरू आफ्ना क्रियाकलाप र स्क्रिनमा हेर्ने समयलाई सन्तुलन राख्न नसक्ने भएका छन् । फलस्वरूप उनीहरूमा घाँटी र आँखाको समस्या देखिने गरेको छ ।कतै हामी आफैं बिहान उठ्नासाथ, खाना खाँदा, राति सुत्ने बेलामा, बालबालिकासँग घुम्न जाँदा, गीत सुन्दा, मनोरञ्जनका लागि, पढाइका लागि, कामका लागि, आफन्तजनसँग कुराकानीका लागि, साथीभाइसँग हालखबर सोध्न, खाना मगाउन, यातायातका साधन लिन, अनि यस्तै–यस्तै कुरामा बिहान उठेदेखि राति निदाइ नसक्दासम्म मोबाइलमै व्यस्त त छैनौं?

 

कतिपय कामका लागि त मोबाइल फोनको प्रयोग अपरिहार्य नै छ तर कतै हामी वास्तविक आवश्यकताभन्दा बढी यसको प्रयोग गरिरहेका त छैनौं? यदि हामी अभिभावक आफैं मोबाइल फोनको अत्यधिक र अनावश्यक प्रयोगलाई व्यवस्थापन गर्न सकिरहेका छैनौं भने सर्वप्रथम त्यतातिर ध्यान दिनु अत्यावश्यक हुन्छ।

-अभिभावकले पनि सकेसम्म साना बच्चाको अगाडि ग्याजेटमा व्यस्त रहने गर्नुहुँदैन ।

– बच्चाहरू ग्याजेटप्रति छिटै आकर्षित हुने भएकाले लुकीछिपी चलाउन खोज्छन् । तसर्थ, अत्यावश्यक नै भए बच्चाको ध्यान एकोहोरो केन्द्रित नहुने गरी चलाउन सकिन्छ

-बच्चाहरू घरमै बस्दा टिभी, कम्प्युटर र मोबाइलसँग नजिक हुने गर्छन् । यसको सट्टा सुरक्षित स्थानमा साथीहरूसँग खेल्ने वातावरण मिलाउन आवश्यक छ ।

 

– बालबालिकाका हरेक क्रियाकलापमा अभिभावकले सधैँ निगरानी राख्नुपर्छ ।
– खाना खाँदा, पढ्दा वा सुत्ने वेलामा ग्याजेटबाट टाढा राख्नुपर्छ ।