२०८१ बैशाख २६ , बुधवार

पोषिलो खाना कार्यक्रमबाट सात सय ४८ सुत्केरी लाभान्वित

सुनाखरी न्युज  /काठमाडौं –  सुत्केरी आमालाई पोषिलो खाना कार्यक्रमअन्तर्गत स्याङ्जामा सात सय ४८ सुत्केरी लाभान्वित भएका छन् । जिल्लाभित्र तथा जिल्ला बाहिरका स्वास्थ्य संस्थाबाट सुत्केरी भएका आमालाई पोषिलो खाना कार्यक्रमअन्तर्गत जनही रु नौ हजार उपलब्ध गराइएको स्वास्थ्य कार्यालयका प्रमुख वसुन्धरा शर्माले बताउनुभयो ।

 

अतिविपन्न, दलित, अपाङ्ग र लोपोन्मुख समुदायका सुत्केरी आमा र बच्चा कुपोषणको जोखिममा हुने सम्भावना प्रवल हुनेहुँदा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले उक्त कार्यक्रम सञ्चालन गरेको हो । आमा तथा बालबालिकाको पोषण सुधार गर्न सुत्केरी भएको ४५औँ दिनसम्म पोषिलो खानाका लागि पोषण उपलब्ध गराई उनीहरुको पोषण अवस्थामा सुधार गरी स्वास्थ्य अवस्था सुदृढ गराउने उद्देश्य रहेको उहाँले बताउनुभयो ।

 

“लक्षित समूहका सुत्केरी महिलालाई दिनको रु दुई सयका दरले ४५ दिनको एकमुष्ट रु नौ हजार उपलब्ध गराउँछौँ”, उहाँले भन्नुभयो, “उक्त कार्यक्रम सञ्चालन गर्न मन्त्रालयबाट स्याङ्जामा रु ९५ लाख रकम विनियोजन गरिएको थियो ।” उहाँले सुत्केरी आमाको नाममा नागरिकता नहुनु, आफ्नै बैंक खाता नहुनु, परिचय खुल्ने कागजात नहुनुलगायतका कारणले गर्दा सेवा लिनबाट बञ्चित भएकोे बताउनुभयो । “मन्त्रालयबाट स्याङ्जामा रु ९५ लाख बजेट विनियोजन भएकामा रु ६७ लाख ३२ हजार लक्षित लाभग्राहीलाई उपलब्ध गरायौँ”, उहाँले भन्नुभयो, “आवश्यक कागजात नहुनु, नागरिकता प्राप्त नगर्नु, सुत्केरी आमाको नाममा बैंक खाता नहुनुलगायतका कारणले विनियोजन भएको बजेट पूरै खर्च हुन सकेन ।”

 

भुक्तानी लिन सम्बन्धित वडा कार्यालयबाट लक्षित वर्गअन्तर्गत पर्ने भनी गरिएको सिफारिस, व्यक्तिको परिचय खुल्ने कागजात, जन्म प्रमाणपत्र, सुत्केरी महिलाका नाममा खोलिएको बैंक खाताको चेकको प्रतिलिपिलगायतका कागजात आवश्यक पर्ने उहाँले बताउनुभयो । रासस