सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङमा पर्ने अधिकांश खण्ड कालोपत्र भइसकेको छ । पूर्व मालढुङ्गादेखि पश्चिम पातीहाल्नेसम्म करिब एक सय ४२ किलोमिटरमध्ये हालसम्म १४ किलोमिटर बाहेक सबै सडक कालोपत्र भएको छ ।
कालोपत्र भएको सडक विभिन्न स्थानमा क्षतविक्षत् बनेको छ । बिना इञ्जीनीयर निर्माण भएका ग्रामीण सडकले लोकमार्गमा ठूलो क्षति पु¥याएको छ । सकडमा क्षति पु¥याउनुका साथै सामान्य वर्षा हुने बित्तिकै अवरुद्धसमेत हुने गरेका छन् । सामान्य वर्षाले नै सडक अवरुद्ध हुँदा यात्रु मर्कामा पर्ने गरेका छन् ।
बागलुङ सदरमुकामदेखि काठेखोला, बडिगाड, ढोरपाटन हुँदै निसीखोलासम्म पर्ने मध्यपहाडी लोकमार्गका ठाउँ–ठाउँबाट शाखा सडक निर्माण भएका छन् । शाखा सडक निर्माण गर्दा डोजरले नै केही भागमा कालोपत्र उप्काएको छ भने केही भागमा भत्काएर अप्ठ्यारो बनाएको छ ।
पालिकाले नै कालोपत्र सडकलाई भत्काएर अप्यारो बनाउने गरेको यात्रुको आरोप छ । बडिगाडका निर्मल सुवेदीले कालोपत्र भएको लोकमार्ग दुई÷तीन वर्ष नहुँदै क्षतविक्षत हुनु स्थानीय पालिकाको कमजोरी रहेको बताउनुभयो ।
“यति राम्रो कालोपत्र लोकमार्गबाट पालिकाले शाखा सडक निर्माण गर्छन्, निर्माण गर्ने बेला थोरै सजकता अपनाएको भए सडकको अवस्था यस्तो हुने थिएन”, उहाँले भन्नुभयो, “सरोकारवाला निकायकै लापरबाहीले लोकमार्गको हालत यस्तो भएको छ, ठूला गाडी त जसोतसो गुड्छन्, साना मोटरसाइकल र ट्याक्सीलाई निकै समस्या हुने गरेको छ, दुर्घटनाको जोखिम पनि बढाएको छ ।”
लोकमार्गको सबैभन्दा बढी गलकोट र बडिगाड खण्डको धेरै स्थानमा सडक बिग्रिएको छ । कालोपत्र सडकको बीच भागमै ठूलाठूला खाडल बनेका छन् । खाडलमा गाडीका टायर फस्दा पार्टपुर्जा बिग्रिने, पट्टा भाँचिने गरेको गाडी चालक शेरबहादुर विकले बताउनुभयो । बर्खाको समय सडकमाथिबाट आउने लेदोसहितको बाढीले बढी समस्या गराउने गरेको उहाँको भनाइ छ ।
विकले भन्नुभयो, “गाउँ–गाउँमा मोटरबाटो पुगेका छन्, नाली निर्माण गरेका छैनन्, पानी प¥यो भने गाउँको सडकको माथि सबै बगाएर कालोपत्र भएको सडकमा ल्याउँछ, जहाँ–जहाँ स–साना खोल्सा छन् त्यहाँ बढी क्षति पुगेको छ, बर्खामा त गाडी कालोपत्र बाटोमा पनि गाडी चलाउनै मुस्किल हुन्छ, सडकको ठाउँ ठाउँमा ठूला–ठूला ताल बनेका छन्, गाडी भासिन्छ, बिग्रिन्छ, धेरै खर्च निस्किन्छ ।”
अक्षतेदेखि बिहुँसम्मको खण्ड कालोपत्र गर्न बाँकी रहे पनि बिहुँ हुँदै गलकोट–बडिगाड–बुर्तिबाङसम्मको खण्ड २०७२ सालमा कालोपत्र सम्पन्न गरिएको थियो । कालोपत्र गरिएका ती खण्डका अधिकांश भाग भलले उप्काइदिएको छ । त्यसबाट करोडौँको क्षति पुगेको छ । हटिया–बुर्तिबाङ र बुर्तिबाङ–पातिहाल्नेसम्मको सबै खण्ड कालोपत्र भइसकेको छ ।
मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा पर्ने एक सय ४२ किलोमिटरमध्ये करिब एक सय ३० किलोमिटर सडक कालोपत्र भइसकेको छ । अधिकांश सडक खण्डमा नाली पुरिएकाले भल सडकको बीच भागबाट बग्ने गर्दछ । जीर्ण बनेको घोडाबाँधे–हटिया सडक खण्ड मर्मतका लागि रु ४० करोड विनियोजन भई त्यसबाट धमाधम काम भइरहेको छ । बागलुङका छ स्थानीय तहमा प्रत्यक्ष जोडिएको मध्यपहाडी लोकमार्ग जिल्लाको विकासको मेरुदण्ड मानिए पनि दुरावस्था हुँदा यात्रु सास्ती भोग्न बाध्य भएका छन् ।
कालोपत्र हुन बाँकी रहेका सडकको कालोपत्र गर्न, क्षतविक्षत बनेको सडकको तत्काल मर्मत सम्भार गरि जोखिम न्यूनीकरण गर्न स्थानीयको माग छ । लोकमार्गको बिहुँ खण्ड लामो समय निर्माण कम्पनीले कालोपत्र गर्न नसक्दा कारबाही गरिएको छ । लोकमार्ग आयोजना कार्यालयले ठेक्का सम्झौता पनि छाडेको छ । ट्र्याक खुलेको २६ वर्ष बितिसक्दा पनि यो खण्ड कालोपत्र नहुँदा स्थानीय हिलो र धुलोका कारण बसाइँसराइ गर्न बाध्य भएको स्थानीय नगेन्द्र कँडेलको भनाइ छ ।
सडक कालोपत्रका लागि बारम्बार निर्माण कम्पनी र सरोकारवाला निकायलाई आग्रह गर्दा गर्दै केही समय अगाडि ठेक्का नै तोडिएपछि कालोपत्र गर्ने कार्य अनिश्चित बनेको उहाँको भनाइ छ । कँडेलले सडक छेउछाउँका धेरै बस्ती विस्थापित हुनुपरेको गुनासो पोख्नुभयो ।
रासस