२०८१ जेठ ३ , बिहिवार

जंगली च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु

 

सुनाखरी न्युज /  काठमाडौं –  जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । २८ असारमा जंगलबाट ल्याएको च्याउ खाएका कारण दुई बालक र उनीहरुकी आमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।लुंग्री गाउँपालिका–५ कालापोखरा घर भएका ३३ वर्षिया भीमा गुरुङ उनका ११ वर्षका छोरा सुशील गुरुङ र ६ वर्षका छोरा प्रेम गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिए ।

 

जंगली च्याउ खाई बिरामी परेपछि २८ असारमै उनीहरुलाई उपचारका लागि सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल वुटवल लगिएको थियो । उनीहरु तीनै जनाको बुटवलमा उपचारका क्रममा मृत्यु भएको भुसालले जानकारी दिए । ६ वर्षका प्रेम गुरुङको २८ असारमा, ११ वर्षका सुशील गुरुङको ३० असारमा र आमा भीमाको आइतबार मृत्यु भएको हो ।

 

लुंग्री गाउँपालिका–५ बुझिङमा जंगली च्याउ खाएका कारण ५ जना बिरामी परेका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । त्यस्तै २८ असारमै लुंग्री गाउँपालिका–१ मा पनि जंगली च्याउ खाएर ६ जना बिरामी परेका थिए ।