२०८१ जेठ ३ , बिहिवार

पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ

सुनाखरी न्युज  / काठमाडौं – नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन्। यादवलाई प्रहरीले बैंकिङ कसुरको मुद्दामा पक्राउ गरेको हो। गत माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि पूर्व मन्त्री यादवमाथि मुद्दा दर्ता भएको थियो।

 

लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्री रहिसकेका यादवले रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवको नाममा १० माघ २०७० मा काटेको चेक अनादर भएको थयो। यादवले १२ लाख २८ हजार रुपैयाँ चेक काटेर दिए पनि पटक पटक बैंक जाँदा पर्याप्त मौज्दात नभएको देखिएपछि चेक अनादर बाउन्स भएको थियो । मुद्दा दर्तापछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

 

रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामू अर्यालले बाँकेको डुडुवा गाउँपालिका होलीयाबाट आइतबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। २०७४ सालको निर्वाचनमा जनता समाजवादी पार्टी जसपाबाट निर्वाचित यादव गत वर्षको साउन ३१ मा नेकपा एमाले प्रवेश गरेका थिए। लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट निर्वाचित उनी लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका थिए। पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले उनलाई कारबाही गरेको थियो।