सुनाखरी न्युज / काठमाडौं – काठमाडौंको फोहोर बिसर्जन गर्न गएका गाडीलाई विभिन्न स्थानमा अवरोध भएको छ । नुवाकोट र धादिङका स्थानीयले बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध गरेका हुन । नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ का स्थानीयवासी सडकमा उत्रिएर फोहोरका गाडीलाई अघि बढ्न रोकेका छन् ।
त्यसैगरी ठाउँ- ठाउँमा स्थानीयहरु जम्मा भएर बल प्रयोग गर्दै फोहोर बिसर्जन भइरहेको भन्दै विरोध गरेका छन् । मंगलबारदेखि सरकारले प्रहरी लगाएर बन्चरेडाँडामा फोहोर बिसर्जन गरिंदै आएको छ ।आज बिहान करिब ७ बजेदेखि नै स्थानीयले अवरोध गरेको नुवाकोटको ओखरपौवा प्रहरीचौकीले जनाएको छ ।प्रहरीका अनुसार त्यहाँ अहिले सडकमा फोहोर बोकेका गाडीको लामो लाइन छ । धुनीबेँसी–१ र ककनी–२ को सीमामा पर्ने पुलमा स्थानीयले अवरोध गरेको धुनीबेँसी–१ का वडाध्यक्ष मानबहादुर तामाङले जानकारी दिए ।
स्थानीय आफैँ सडकमा उत्रिएर काठमाडौंबाट गएका फोहोर बोकेका गाडीलाई अघि बढ्न नदिएको उनले बताए । स्थानीयको आन्दोलनमा आफूहरूको समर्थन रहेको उनको भनाइ छ ।संघ सरकार र काठमाडौं महानगरपालिकासित यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेको उनले बताए । “हामीलाई अब धेरै गाह्रो भयो, कि यहाँ फोहोर फाल्न रोक कि हामीलाई उचित व्यवस्थापन गर भन्ने स्थानीयको माग छ,” उनले भने, “यसअघिका सहमति पनि कार्यान्वयन भएको छैन । स्थानीयलाई धेरै गाह्रो भएको छ ।”