२०८१ जेठ ५ , शनिवार

यूट्युब च्यानल सब्सक्राइब गर्न ओलीको आह्वान

सुनाखरी न्युज /  काठमाडौं –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो युट्युब च्यानल ‘केपी बा’ सब्सक्राइब गर्न आग्रह गरेका छन ।सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले यूट्युब च्यानल सब्सक्राइब गर्न अपिल गरेका हुन ।

 

आइतबार बिहान फेसबुकमार्फत उनले आफू ५ हजार फिटमाथिबाट उडिरहेको हेलिकप्टरबाट झरेको घटनालाई स्मरण गर्दै यस्तै आफ्नो जीवनका थुप्रै कुराहरू यही च्यानलमा राख्ने बताएका छन् । ‘पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छु जस्तो नै लागेको थिएन । झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतारहतार आफ्ना हातखुट्टा छामी हेरेँ । आश्चर्य लाग्यो । म घाइते थिएँ तर जिउँदो थिएँ ।

 

मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भयो । सफलताको अनुभूति गरेँ । बाँच्नु आफैँमा एउटा सफलता हो । मृत्युका मुखमा पुगेर बाँच्नु मेरा लागि अझ ठूलो सफलताको विषय बन्न पुग्यो । यो मेरो २०५२ सालमा हेलिकप्टर दुर्घटनामा पर्दाको अनुभव हो’ उनले भनेका छन् । चार महिनाको अवधिमा यो च्यानलमा ३० वटा भिडियो पोष्ट गर्दा पाँच हजार ६ सय जनाले सब्सक्राइब गरेका छन् ।