२०८१ बैशाख १५ , शनिवार

कर्मचारीको पारिश्रमिकबाट अस्पताललाई थाइराइड मेशिन प्रदान

सुनाखरी न्युज/ काठमाडौं । आँबुखैरेनी गाउँपालिका मातहत कार्यरत कर्मचारीले आँबुखैरेनी अस्पताललाई रु दश लाखभन्दा बढी मूल्यको थाइराइड मेशिन प्रदान गरेका छन् ।

गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थालगायत सबै क्षेत्रमा कार्यरत कर्मचारीले खाईपाई आएको पारिश्रमिकबाट थाइराइड मेशिन खरिद गरी उक्त अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकामा दरबन्दी र करारका गरी एक सय ३५ जना कार्यरत कर्मचारीको पारिश्रमिकबाट मेशिन खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

गत जेठ ३१ गते बसेको कर्मचारीको बैठकले कर्मचारीको पारिश्रमिकबाट मेशिन खरिद गरी अस्पताललाई प्रदान गर्ने विषयमा सर्वसम्मत निर्णय भएपछि सहयोग गरेको उहाँले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शर्मा लगायतका कर्मचारीले गाउँपालिकाका अध्यक्ष शुक्र चुमान र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा धनबहादुर क्षेत्रीलाई उक्त मेशिन हस्तान्तरण गर्नुभएको हो । अस्पतालमा थाइराइड परीक्षण गर्ने मेशिन नहुँदा थाइराइडका बिरामी उपचारका लागि अन्यत्र धाउनु परेकाले मेशिन आएपश्चात् सहज हुने विश्वास गाउँपालिकाले गरेको छ । गाउँपालिकाभित्र धेरै थाइराइडका बिरामी रहेकाले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेपछि कर्मचारीले मिलेर मेशिन खरिद गरी अस्पताललाई दिएपछि उपचारमा सहज भएको छ ।

गाउँपालिकाभित्रका नागरिकले सहज रुपमा घरदैलोमा सेवा पाउने हुँदा सबै कर्मचारीको सकारात्मक सहयोगबाट मेशिन खरिद कार्य सहज हुने उहाँले बताउनुभयो । कार्यालय सहयोगी, सुरक्षा गार्ड, सरसफाइ क्षेत्रमा कार्यरत सहयोगी कर्मचारीलाई यस अभियानमा सहयोग गर्न अनिवार्य नगरिए पनि स्वस्र्फूत आफूले सकेको आर्थिक सहयोग गरेका थिए ।

उक्त अभियानलाई सफल बनाउन अहोरात्र खटिने कर्मचारीप्रति प्रमुख प्रशासकीय अधिकृत शर्माले धन्यवादसमेत व्यक्त गर्नुभएको छ । उक्त कार्यका लागि गाउँपालिका मातहतका सबै कर्मचारीले तहअनुसारको तलबबाट सहयोग रकम कट्टा गरी अस्पताललाई मेशिन प्रदान गरेर उदाहरणीय कार्य प्रस्तुत गर्नुभएको गाउँपालिकाका अध्यक्ष चुमानले बताउनुभयो । गाउँपालिकामा कार्यरत कर्मचारीले आफ्नै पारिश्रमिकबाट अस्पतालका लागि थाइराइड मेशिन खरिद गरी हस्तान्तरण गरेपछि स्वास्थ्य सेवामा सहज हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । रासस