२०८१ बैशाख १५ , शनिवार

दुर्गमका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार गर्न बजेट अभाव छैन: मन्त्री आचार्य

सुनाखरी न्युज/ काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्दारमा बजेट अभाव नभएको बताएका छन्।

 

बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री आचार्यले दुर्गम क्षेत्रमा गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार गर्नका लागि बजेटको कमी नरहेको बताएका हुन्। आगामी आर्थिक वर्षमा सो कार्यक्रमको प्रभावकारिता हेरेर थप परिमार्जन गर्ने र निरन्तरता दिने मन्त्री आचार्यले उल्लेख गरे। उनले हालसम्म ५३६ जनाको हवाई उद्धार भएको जानकारी दिए। मन्त्री आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगतामैत्री नमूना मन्त्रालयको रुपमा विकास गर्ने काम अगाडि बढिरहेको पनि बताए।

 

मन्त्री आचार्यले भने– ‘हालसम्म ५३६ जना दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरी महिलाहरुको जीवन रक्षामा सहयोग गरिएको अवस्था छ। आगामी आर्थिक वर्षमा कार्यक्रमको प्रभावकारिता अध्ययन गरी उक्त परियोजनालाई थप परिमार्जन गरी निरन्तरता दिने कार्यक्रम रहेको छ। यस कार्यक्रममा बजेटको कमी नरहेको जानकारी गराउन चाहन्छु। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगतामैत्री नमूना मन्त्रालयको रुपमा विकास गर्ने कार्य अगाडि बढीरहेको छ। संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यलाई प्रभावकारी गराउनको लागि अन्तरतह समन्वय कार्यक्रम सञ्चालन गर्ने र मन्त्रालयबाट सञ्चालित कार्यक्रम र प्रवाह गरिएको सशर्त अनुदानको प्रभावकारिता सम्बन्धमा अनुगमन गर्न अन्तरमन्त्रालय एकीकृत अनुगमनको कार्यक्रम रहेको छ।’