२०८१ बैशाख २१ , शुक्रवार

सामाजिक सञ्जालमार्फत करोडौँ ठगी, भारतीयसहित सात जना पक्राउ

सुनाखरी न्युज / काठमाडौं –  सामाजिक सञ्जालमार्फत ७० हजार अमेरिकी डलर पठाएको छु भन्दै ठगी गर्ने सात जना पक्राउ परेका छन्। तीमध्ये तीन जना इन्जिनियर र एक जना भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका सात जनाको खातामा एक बर्षको अवधिमा १ अर्ब ८ करोड १ लाख ४२ हजार ३९३ रुपैयाँ जम्मा भएको अनुसन्धानबाट फेला पारेको जनाएको छ । पक्राउ पर्नेमा आइटी इन्जिनीयर रहेका एक भारतीय नागरिक र ६ जना नेपाली रहेका छन् ।

 

उनीहरुले विभिन्न व्यक्तिहरुलाई अमेरिकी डलर र विदेशी सामानहरु पठाएको भन्दै प्रलोभनमा पार्ने गरेको खुलेको छ । विदेशबाट आएको डलर र सामान एयरपोर्टमा रोकिएकोले त्यस वापत कर तिर्न लाखौं रुपैयाँ बैंक डिपोजिट माग्ने गरेको अनुसन्धानका क्रममा भेटिएको प्रहरीको भनाई छ । पछिल्लो पटक उदयपुरको कटारी नगरपालिका–४ की ३६ वर्षीया सरिता तामाङसँग गुडनेस इजरायल नामको फेसबुक आइडीबाट साथी बनाएर १ लाख ३० हजार ६२७ रुपैयाँ ठगी गरेको उजुरी प्राप्त भएपछि प्रहरीले गोप्य अनुसन्धान अघि बढाएको थियो ।

 

सामान लिनका लागि उक्त रकम खातामा जम्मा गर्नुपर्ने शर्त राखेपछि तामाङले पनि पैसा जम्मा गरिदिएकी थिइन् । तर पछि आफु ठगिएको थाहा पाएर उनले इलाका प्रहरी कार्यालय कटारीमा उजुरी गरेपछि प्रहरीले उक्त गिरोहका सात जनालाई पक्राउ गर्न सफल भएको हो ।

 

त्यसैगरी फेसबुकमा साथी बनाइ प्रलोभनमा पारी विभिन्न व्यक्तिको नामा खोलिएको खातामा रकम जम्मा गर्न लगाउने, सामान्य व्यक्तिलाई अग्रभागमा देखाइ ठगी गर्ने मुख्य गिरोह सुरक्षित हुने प्रयास गरेको, जुवा, हुण्डी, युएसडीटीमा संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ। यसअघि प्रहरीले यस्तै प्रकृतिका घटनामा तीन जनालाई पहिलोपटक पक्राउ गरेको थियो। सामाजिक सञ्जालको दुरुपयोग गरी अपराधका घटना बढ्न थालेपछि प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।