२०८२ चैत्र २ , सोमवार

रोजगारीका लागि कुवेत जान लागेका ११० जना श्रमिकलाई फर्कायो अध्यागमनले

tia

सुनाखरी न्युज/ काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११० जनालाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काएको छ । कार्यालयले बुधवार बेलुका वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका नेपाली कामदारहरूलाई गन्तव्य मुलुक जान नदिएर फिर्ता पठाएको हो । उनीहरूले पेश गरेको कागजपत्र शङ्कास्पद देखिएको भन्दै अध्यागमन कार्यालयले कामदारहरूलाई प्रस्थान अनुमति नदिई फिर्ता पठाएको हो ।

 

उनीहरूलाई दिएको पत्रमा अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली २०५१ तथा अध्यागमन कार्यविधि २०६५ अनुसार पेस गरेको यात्रासँग सम्बन्धित कागजातहरू शङ्कास्पद देखिएको हुँदा प्रस्थान अनुमति नदिइएको उल्लेख गरिएको छ । सलम एयरको उडानबाट मस्कट हुँदै कुवेत प्रस्थानका लागि अनुमति माग गरेकोमा निर्धारित बोर्डिङ समयभन्दा ढिला गरी आइपुगेकोले पनि प्रस्थान अनुमति नदिइएको अध्यागमनले जनाएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले सम्पूर्ण प्रक्रिया पुरा गरेर जान लागेकाहरूलाई रोकेको बताए ।

 

‘सम्पूर्ण प्रक्रिया पुरा गरेर जान लागेका थिए । सम्बन्धित देशले सम्बन्धित एयरलायसन्सलाई उडानका लागि ठिक छ भनेर पत्र समेत दिइएको अवस्था छ । यति गर्दा पनि अध्यागमनका केही कर्मचारीहरूले नियोजित रूपमा मान्छे फर्काएका हुन्,’ अध्यक्ष भण्डारीले भने । टिकट, भिसा, श्रम स्वीकृति सबै कागजात पेस गर्दा पनि उनीहरूलाई फर्काइएको उनले बताए ।