२०८१ बैशाख २४ , सोमवार

यी तीन प्रदेशमा आज र भोलि भारी वर्षाको प्रक्षेपण

सुनाखरी न्युज/ काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले  आगामी दुई दिन पूर्वी नेपालमा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित छ । त्यसैले पश्चिमको तुलनामा पूर्वी नेपालमा बढी वर्षाको प्रक्षेपण गरिएको हो ।

 

मौसमविद प्रतिभा मानन्धरले आज र भोलि नेपालका पूर्वी र मध्य भेगमा तथा पर्सि पश्चिम भेगमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिइन् । आज र भोलि दुई दिन तराईका जिल्लाहरुमा हावाहुरीकोसमेत सम्भावना रहेको उनले बताइन् ।

अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी र मधेशका एक-दुई स्थानमा भारी वर्षासमेत भएको छ । यो वर्षा विस्तारै कम हुँदै गएको मौसमविद मानन्धरले बताइन् ।  हिजो कर्णाली प्रदेशमा पनि ठूलो पानी परेको थियो ।

आज रातभरी प्रदेश १ र बागमती प्रदेशमा वर्षा भइरहेको छ । प्रदेश १ का सुनसरीको धरान, चतरा, झापाको कनकाई, अनारमणि बिर्ता, चन्द्रगढी एयरपोर्ट तथा आसपासका क्षेत्रमा आज बिहान मध्यमदेखि भारी वर्षा मापन भएको छ । मौसम विज्ञान विभाग अन्तर्गतको बाढी सूचना केन्द्रले बिहान २ बजे ट्वीट गरेर पछिल्लो तीन घण्टादेखि ती क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जनाएको छ ।

यसैगरी गएराति बागमती प्रदेशको मकवानपुर र आसपासका केही स्थानमा पनि मध्यमदेखि भारी वर्षा मापन भएको छ । कोशी र बागमती प्रदेशका ती क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा होचा भूभागमा रहनेहरूलाई उच्च सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।