२०८१ बैशाख २१ , शुक्रवार

आपांगता भएका युवालाई अमेरिका जाने प्रलोभन देखाएर ठगी गर्ने दुईजना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै एक गिरोहले अपांगता भएका पचास जनाभन्दा बढी युवाबाट करिब साढे करोड रुपैयाँभन्दा बढी ठगी गरेको खुलेको छ । गिरोहले अमेरिका लैजाने भन्दै उनीहरुबाट तीन करोड २९ लाख २६ हजार ४ सय ८० रुपैयाँ ठगी गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।

 

ठगी गर्ने गिरोहका दुईजनालाई भने प्रहरीले पक्राउ गरेको छ । सिआइबीका अनुसार कान नसुन्ने र बोल्न नसक्ने युवालाई आफू अमेरिकाको प्लेनउड स्प्रिङ्सको नेपाली रेस्टुरेन्टमा काम गर्ने भन्दै गिरोहका नाइकेले ठगी गरेका हुन्। ठगीमा सांकेतिक भाषा अनुवादकहरू पनि संलग्न छन्। हाल अमेरिकामा रहेका टंकराज बस्नेतको योजनामा ठगी भएको सिआइबीको निष्कर्ष छ । प्रहरीका अनुसार ४२ वर्षीय बस्नेत पनि कान नसुन्ने र बोल्न नसक्ने व्यक्ति हुन्। टंकराजले एक जनाको जनही चार लाख रुपैयाँ लाग्ने र मासिक दुई हजारदेखि तीन हजार डलरसम्म कमाइ हुने आश्वासन दिएका थिए। सोही क्रममा बस्नेतले भिसा प्रोसेसिङ, चिठ्ठीहरू पार्सल गर्न र दूतावासमा पैसा बुझाउन भन्दै रकमहरू माग गरेका थिए।

 

सांकेतिक भाषा अनुवादक अल्पा ढकाल र बस्नेतकी श्रीमती निर्मला महर्जनलाई सीआईबीले पक्राउ गरेको छ। पक्राउ परेका दुईसहित १० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जाहेरवालामध्ये मनोज थापाले मात्र आफू र विभिन्न साथीहरूको एक करोड ३९ लाख ३४ हजार ४ सय रुपैयाँ ठगीएको बताएका छन्। प्रहरीले ढकाल र महर्जनसँगै विभिन्न व्यक्तिको नाममा जम्मा गरेको प्रमाण सार्वजनिक गरेको छ ।