२०८३ श्रावण २१ , बिहिवार

म्याग्दीमा बाढीबाट भन्दा पहिराबाट धेरै पीडित

सुनाखरी न्युज  / काठमाडौं –  उपल्लो भेगको भिरालो भूगोल र पुछारमा जलाधार क्षेत्र रहेको म्याग्दीमा बर्सेनि पहिराले सताउने गरेको छ । जिल्लामा बाढीबाट भन्दा बढी पहिराका कारण पीडित हुनेहरुको सङ्ख्या बढ्दै गएको पाइएको छ । जिल्लाको एउटा गाउँपालिकाका सातओटा वडाहरुमा एक सय २८ पहिराले क्षति पु¥याएको छ । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाभित्र मात्रै एक सय २८ पहिरो रहेका र तीमध्ये २८ ठूला पहिराबाट बर्सेनि जनधनको क्षति हुने गरेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदी रहेको म्याग्दीमा गाउँ–गाउँमा पुग्ने सडक स्तरोन्नति क्रममा जथाभावी फालिएको माटो र ढुङ्गाले भूक्षय गराउँदा पहिराको जोखिम बढ्दै गएको भू तथा जलाधार व्यवस्थापन कार्यालयले जनाएको छ ।

 

कार्यालयका अनुसार म्याग्दीमा बर्सेनि २५ लाख १५ हजार सात सय ६० दशमलव २० टन माटाको नाश हुने गरेको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भू–क्षय, नदी कटान र बाढी पहिराका कारण बर्सेनि म्याग्दीका ६ वटै स्थानीय तहहरुबाट २५ लाख १५ हजार सात सय टनभन्दा बढी माटो बगेर जाने गरेको भू–संरक्षण अधिकृत शम्भुकुमार मिश्रले जानकारी दिनुभयो । उहाँले विगत तीन वर्षदेखि यस वर्षको असार तेस्रो सातासम्म जिल्लामा बाढी पहिराले जिल्लामा दुई हजार पाँच सय १० घर प्रभावित रहेको उल्लेख गर्नुभयो । उहाँले बाढी पहिरो र कटान जोखिम नियन्त्रणका लागि वार्षिक एक सय ४० वटा निवेदन आउने भए पनि कार्यालयबाट १२ निवेदनलाई बजेटले सम्बोधन गर्न सकिएको उल्लेख गर्दै यसतर्फ जनप्रतिनिधिले ध्यान दिन आग्रह गर्नुभयो ।

 

विकासका भौतिक पूर्वाधारहरु निर्माण गर्दा वातावरणीय पक्षलाई बेवास्ता गरिएको कारण म्याग्दीमा बर्सेनि बाढी र पहिराको जोखिम बढ्दै गएको उहाँको भनाइ छ । “६१ प्रतिशत ६० डिग्रीभन्दा बढी भिरालो भूगोल रहेको म्याग्दीमा कमजोर भूबनोटका कारण भू–क्षय, बाढी, पहिरो तथा नदी कटानले गर्दा बर्सेनि क्षति बढेको छ”, उहाँले भन्नुभयो “भूमिगत जलप्रवाह, अव्यवस्थित भलपानी, जथाभावी सडक निर्माण र खोल्साखोल्सीको अतिक्रमण तथा बहावमा स्थान परिवर्तन हुँदा जोखिम बढेको हो ।” अन्नपूर्ण गाउँपालिकाबाट आठ लाख ५५ हजार एक सय ७३ टन, रघुगङ्गा गाउँपालिकाबाट तीन लाख ५० हजार चार सय ६८ दशमलव १० टन र बेनी नपाबाट ३१ हजार एक सय ३७ टन माटो बाढीले बगाउने गरेको कार्यालयले जनाएको छ । अध्ययन प्रतिवेदनका अनुसार मङ्गला गाउँपालिबाट ३३ हजार चार सय ६६ टन, मालिकाबाट एक लाख तीन हजार दुई सय ३० टन, धौलागिरि गाउँपालिकाको आठ लाख ९६ हजार चार सय दशमलव १० टन र ढोरपाटन सिकार आरक्षको दुई लाख ४५ हजार आठ सय ८६ टन माटो विभिन्न खोलानाला हँुदै बगिरहेका छन् ।

 

दुई हजार दुई सय ९७ दशमलव छ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको म्याग्दीमा ३६ प्रतिशत भू–भाग १–६० डिग्री भिरालोपना छ । तीन प्रतिशत भू–भाग मात्र समथर छ । ३१ बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका कार्यालयले जनाएको छ । तीनवटा जलाधार क्षेत्र र सातवटा उपजलाधार क्षेत्रमा विभाजन गरिएको म्याग्दीको ३५७ दशमलव नौ हेक्टर जमिन भू–क्षयबाट प्रभावित भएको छ । म्याग्दी, कालीगण्डकी र रघुगङ्गाले क्रमशः ५५, ३० र १३ प्रतिशत जलाधार क्षेत्र ओगटेको छ ।  वरिष्ठ भू तथा जलाधार संरक्षण अधिकृत दिवाकर पौडेलले माथिल्लो तटीय क्षेत्रमा रहेको मुस्ताङमा केही वर्षयता अत्यधिक बर्सात हुँदा त्यसको असर म्याग्दी, पर्वत, बागलुङलगायत जिल्लाका कालीगण्डकीको तटीय बस्तीमा देखिएको बताउनुभयो । “जलाधारीय दृष्टिकोणले अति नै क्षतिग्रस्त अवस्थामा रहेको मुस्ताङमा विगत केही वर्षयता अत्यधिक पानी पर्न थालेको छ”, उहाँले भन्नुभयो, “कालीगण्डकी नदीको सतह बढ्दै जानु र सो क्षेत्रको गेग्र्यानको तल्लो तटीय क्षेत्रमा बढ्नु थप चिन्ताको विषय हो ।”

 

बाढी, पहिरो तथा नदी कटानजन्य समस्यालाई समाधान गर्न ग्रामीण सडक निर्माण गर्दा बायो–इन्जिनियरिङ प्रविधिमा आधारित सडक पाखो संरक्षण, अनियन्त्रितरुपमा बग्ने भलपानीको उचित व्यवस्थापनका लागि भल तर्काउने कुलेसो, जलाधार संरक्षण पोखरी निर्माण गर्नाका साथै जिल्लाभित्र रहेका ठाडो÷खहरेखोलाको जलाधार क्षेत्रमा भएको भू–क्षयलाई नियन्त्रण गर्न अध्ययन प्रतिवेदनमा सुझाव दिइएको छ ।वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत पौडेलले वातावरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी सडक लगायतको पूर्वाधारले मानवबस्तीसँगै उर्वरभूमिको कटान, पहिरो र भूक्षयको जोखिम बढ्दै गएको बताउनुभयो । उहाँले म्याग्दीमा संरक्षणमुखी विकास पूर्वाधारहरु निर्माणमा ध्यान नदिँदा दिन प्रतिदिन पहिरो, कटान र भूक्षयको समस्या बढ्दै गएको जानकारी दिनुभयो ।रासस