२०८१ जेठ ५ , शनिवार

आउँदो शुक्रबारदेखि ‘बिहेपास’ पुनः रिलिज हुने

 

सुनाखरी न्युज /  काठमाडौँ –  अभिनेता दयाहाङ राई तथा अभिनेत्री प्रकृति श्रेष्ठ अभिनीत फिल्म ‘बिहेपास’ पुनः रिलिज हुने भएको छ । गत वैशाख १ गते रिलिज भएको फिल्म आगामी शुक्रबार पुनः रिलिज हुन लागेको हो । हलले नयाँ फिल्म प्रदर्शन नभइरहेको अवस्थामा पुनः माग गरेकाले दोहोर्याएर चलाउन लागेको निर्माता तथा वितरक रोहित कट्टेलले जानकारी गराए ।

 

गत वैशाखमा प्रदर्शन हुँदा यो फिल्म बाँकी दुई फिल्मसाग जुध्न पुगेको थियो । सोही मितिमा ‘जारी’ र ‘बुलाकी’ पनि प्रदर्शन भएका थिए । यसमध्ये ‘बुलाकी’ले पर्याप्त सो नपाएको भन्दै तेस्रो दिन नै हलबाट फिल्म उतार्ने निर्णय गरेको थियो भने ‘जारी’ले ५१ दिन मनाएको थियो ।

 

विवाहको लागि युवतीको मन जित्न एक पुरुषले गर्ने संघर्षको कथामा फिल्म निर्माण भएको छ । प्रेमकथामा आधारित यो फिल्ममा पहिलो पटक दयाहाङ र प्रकृतिले स्क्रिन सेयर गरेका हुन् । प्रवेश पौडेल निर्देशित फिल्ममा दयाहाङ र प्रकृतिको अलवा शिशिर बाङ्देल, बुद्धि तामाङ र रविन्द्र झा लगायतको अभिनय छ । रोजन श्रेष्ठले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।