सुनाखरी न्युज / काठमाडौँ — बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा ६ पूर्वमन्त्री, २ पूर्वमुख्य सचिव, १४ पूर्व र १ बहालवाला सचिवसहित सार्वजनिक पदधारण गरेका डेढ सयभन्दा बढी कर्मचारीको संलग्नता देखिएको छ ।
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नेपाल सरकरका बहालवाला सञ्चार तथा सूचना प्रविधि सचिव कृष्णबहादुर राउत पनि मुछिएका छन । तत्कालिन माधवकुमार नेपाल नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत रहेका राउतले सो जग्गा प्रकरणको फाइल मन्त्रिपरिषद्मा लग्न टिप्पणी उठाएको हुँदा उनीपनि सो प्रकरणमा मुछिएका हुन्।
तत्कालिन उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छादार रहँदा सो मन्त्रालयको आर्थिक प्रशासन शाखामा अधिृकत रहेका राउतले ललिता निवासको जग्गा सट्टा भर्ना र नक्कली मोहीलाई जग्गा कायम गर्ने सम्बन्धी टिप्पणी उठाएका थिए। उनले टिप्पणी उठाएको फाइल सो मन्त्रालयका सचिवहुँदै मन्त्रिपरिषद्मा पुगेर सदर भएको थियो। सोही मन्त्रालयका सचिवलाई जिम्मेवारी दिइएपनि सचिवले सो फाइलमा हात हाल्न नखोजेपछि राउतले टिप्पणी उठाएका थिए।