२०८१ बैशाख ३० , आइतवार

सम्मानित सफल पुष्प व्यवसायी बिन्दु

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालगञ्जकी ४३ वर्षीया बिन्दु चर्तीमगर बाँकेको एक सफल पुष्प व्यवसायीका रुपमा चिनिनुहुन्छ । उहाँको आफ्नै पुष्प व्यवसाय छ । नेपालगञ्जको चर्को गर्मीमा विगत आठ वर्षदेखि फ्रेस फ्लावरको व्यापार गर्ने उहाँ एक सफल पुष्प व्यापारी हुनुहुन्छ ।

 

बिन्दुले शुक्रबार सफल पुष्प व्यावसायीका रूपमा ‘इन्टरप्राइजिग ओमन अफ द इएर–२०२३’ अवार्ड प्राप्त गर्नुभयो । ‘द बिजनेस एज’ ले आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा बाँकेको पुष्प व्यवसायमा पु¥याएको योगदानको कदर गर्दै उहाँलाई रु ५१ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

पुष्प व्यावसायीसँगै बिन्दु समाजसेवी पनि हुुनुहुन्छ । सम्मानका लागि न्यू विजनेश उमेन नामक संस्थाबाट फोन आउँदा उहाँ एक स्थानीयवासीलाई सहयोग गर्न गाउँमा जानुभएको थियो । बिन्दुले भन्नुभयो,“म नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित मनिकापुरमा एक स्थानीयवासीको घर भत्किएकाले सहयोगका लागि त्यहाँ गएकी थिएँ । फोनमा न्यू विजनेश उमेनमा तपाईँको नाम आएको छ यसका लागि एउटा फारम भर्नुपर्छ भनियो र मैले ईमेलबाटै फारम भरेंँ । दुई हजार जनाले फारम भरेका रहेछन् । तीमध्ये सात जनामा पर्न म पनि सफल भएछु ।”

 

काम गरे त्यसको सकारात्मक प्रतिफल अवश्य पाइन्छ भन्ने भनाइ आफ्नो जीवनमा लागू भएको उहाँले बताउनुभयो । विसं २०३७ मा चितवनको नारायणघाट बेलचोकमा जन्मनु भएकी बिन्दुले सुरुमा १० कठ्ठा जमिनमा सयपत्री फूल उत्पादन गरेर व्यवसाय सुरु गर्नु भएको थियो । अहिले उहाँले दुई बिघा जमिनमा सयपत्री, मखमली, गोदावरी फूल उत्पादन गर्दै आउनुभएको छ । चर्ती फ्लोरामा पाँच कर्मचारी रहेका र मौसमी फूल हेरचाहका लागि १० देखि ११ कामदारले उत्पादनमा सहयोग गर्दै आएका छन् ।

मासिक रु दुई लाखको लगानीमा ३० प्रतिशतभन्दा माथि नाफा हुने बिन्दुले बताउनुभयो । “नेपालगञ्जमा मैले फ्रेस फूलको व्यापार गरेदेखि बजार भाउ असाध्यै राम्रो भएको पाएँ । त्यसैले मैले यस्मा लगानी बढाउन रत्तिभर पनि कन्जुस्याईँ गरिन ।” उहाँले भन्नुभयो,“मैले मासिक रु दुई लाखभन्दा बेसिकै लगानी गर्दछु र यसबाट रु ६० हजारभन्दा मुनाफामा हुने गर्दछ ।” भविष्यमा चर्ती फ्लोरालाई चर्ती ब्राण्ड बनाउने र त्यसपछि अन्तराष्ट्रिय बजारमा पु¥याउने र विषादीरहित फूल उत्पादन गर्ने योजना रहेको पनि बिन्दुले बताउनुभयो ।

 

विसं २०५९मा बुद्ध चाउनमिन तथा सस उद्योग दर्ता गरी चाउमिन उत्पादन तथा बिक्री गदै आउनुभएकी बिन्दुमा सानैदेखि फूल मन पराउने स्वभाव भएकोले त्यही स्वभावलाई व्यवसायमा परिणत गरिएको उहाँको भनाइ थियो । बजारको मागलाई मध्यनजर गर्दै चर्ती फ्लावर सञ्चालनमा ल्याइएको बिन्दुले बताउनुभयो । उहाँ बाँकेमा सबैभन्दा बढी पुष्प उत्पादकका रूपमा चिनिनुहुन्छ भने चर्ती फ्लोर बाँकेको पहिलो र एकमात्र पुष्प बिक्री केन्द्र हो ।

बिन्दु फ्लोरी कल्चर एशोसियशन (लुफान) प्रदेश नं ५ को उपाध्यक्षसमेत हुनुहुन्छ । उहाँको नेपालगञ्जको औद्योगिक क्षेत्र अगाडि चर्ती फ्लोरा नामक पुष्प बिक्री केन्द्र सञ्चालनमा रहेको छ । उक्त केन्द्र विगत आठ वर्षदेखि सञ्चालन हुँदै आएको छ ।

बाँकेस्थित महिला उद्यमी सङ्घको कार्यसमिति सदस्य पनि हुनुभएका बिन्दुलाई सफल पुष्प व्यवसायी बन्न परिवारको ठूलो सहयोग छ । उहाँले भन्नुभयो,“म आज जे छु मेरो परिवारकै कारण छु । यदि मैले परिवारको साथ र सहयोग पाउँदिनथेँ भने आज मेरो यो परिचय हुँदैनथ्यो ।”
रासस