२०८१ जेठ ५ , शनिवार

अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा देखाइयो ‘गुराँस’

सुनाखरी न्युज/ काठमाडौं । नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लाेभी भारी अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ मा पहिलोपटक प्रदर्शन गरिएको छ ।
चेक रिपब्लिकमा जुलाई ५ मा गरिएको प्रदर्शनीमा चर्चा बटुलेको निर्देशक सौरभ राईले जानकारी दिनभयो । “यो हाम्रा लागि पहिलो दर्शक प्रतिक्रिया थियो, यसले हामीलाई सन्तुष्ट बनाएको छ”, उहाँले भन्नुभयो ।
सो प्रदर्शनीमा चलचित्रकी अभिनेत्री मेनुका प्रधान पनि सहभागी हुनुहुन्थ्यो । रङ्गमञ्चमार्फत कलाकारितामा उदाएर चलचित्रमा छुट्टै पहिचान स्थापित गर्नुभएकी अभिनेत्री प्रधानले महोत्सवमा सहभागिता जनाउनु आफ्ना लागि नयाँ अनुभव रहेको प्रतिक्रिया दिनुभयो । “यहाँ धेरैभन्दा धेरै चलचित्र हेर्ने मन छ”, उहाँले भन्नुभयो, “गुराँस पनि यहीँ हेरेँ ।” चलचित्र गुराँसमा उहाँले आमाको भूमिका निर्वाह गर्नुभएको छ ।
नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रमा हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट कथा प्रस्तुत गरिएको छ । दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धलाई समेत प्रस्तुत गरिएको चलचित्रको लेखक निर्देशक राई नै गर्नुभएको छ । चलचित्रमा तुलसी खवासले ‘गुराँस’को शीर्ष भूमिका निर्वाह गर्नुभएको छ भने खगेन्द्र लामिछाने पिताको भूमिकामा हुनुहुन्छ । रासस