२०८२ चैत्र ३ , मंगलबार

के सन्देश दिएर सकीयो कांग्रेस जिल्ला सभापतिहरूको भेला ?

Nepali Congress

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसको जिल्ला सभापति बैठक १४ बुँदे सङ्कल्प गर्दै सकिएको छ। सभापति शेरबहादुर देउवा, उपसभापतिहरू र महामन्त्रीहरूले छलफल गरेर जिल्ला सभापति बैठक गर्ने समझदारी गरेका थिए। सोहीअनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा जिल्ला सभापति बैठक भएको हो।

पार्टीलाई एकताबद्ध बनाउने, संगठन सुदृढीकरण गर्दै जनमुखी काम गर्ने र बदलिएको बलियो कांग्रेस बनाउने लगायत सङ्कल्प गर्दै जिल्ला सभापतिहरू घर फर्केका छन्। बिहीबार र शुक्रबार केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा ४२ जिल्ला सभापति, १८ जिल्लाबाट प्रतिनिधि तथा अन्य जिल्लाका नेताहरू जुममार्फत सहभागी रहेका थिए।

२०७८ मंसिरको १४ औं महाधिवेशनपछि पहिलो पटक यस्तो बैठक भएको हो। एक वर्षदेखि केन्द्रीय समिति नबसेकोले पनि चुनावी समीक्षा, आन्तरिक विषय र राजनीतिक घटनाक्रमबारे सामूहिक छलफल हुन सकेको थिएन।

 

महामन्त्री थापाका अनुसार पार्टी सदस्यता र संगठनका विषयमा १४ बुँदे प्रतिबद्धतासहित जिल्ला सभापति बैठक सकिएको छ। तर ती प्रतिबद्धता के-के हुन् कांग्रेसले सार्वजनिक भने गरेको छैन।

‘पार्टी, नीति र नेतृत्वका बारे जिल्ला सभापतिहरूले राख्नुभएका प्रश्न र सुझावलाई हामीले अब बस्ने केन्द्रीय समिति बैठकमा पेश गर्नेछौं,’ थापाले भने। यही असार २७ गतेदेखि केन्द्रीय समिति बैठक सानेपामा बस्दैछ।

जिल्ला सभापति बैठकले कांग्रेसमा ऊर्जासमेत ल्याएको छ।

 

‘जिल्ला सभापतिहरूले जुन विचार, सुझाव र प्रतिबद्धता जाहेर गर्नुभएको छ, यसले बदलिएको कांग्रेस, बलियो कांग्रेस बनाउने अभियानलाई थप गति प्रदान गर्नेछ,’ महामन्त्री थापाले भने।

कांग्रेसले अनलाइनबाटै सदस्यता वितरण, नवीकरण तथा अभिलेखीकरणका गर्न प्राविधिक ज्ञान दिन जिल्ला सभापति बैठक गरे पनि समसामयिक राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक विषय, प्रदेश र केन्द्र सरकारका कामकारबाही लगायतमा केन्द्रित रहेर जिल्ला सभापतिहरूले धारणा राखेका थिए।

कांग्रेसको १४ औं महाधिवेशनका बेला ८ लाख ४२ हजार क्रियाशील सदस्य थिए। प्रायस् महाधिवेशनका बेला मात्रै क्रियाशील सदस्यता नवीकरण गर्दा विवाद हुने गरेको थियो। अबदेखि यस्तो विवाद नहोस् भनेर अनलाइनबाटै सदस्यता वितरणका काम सुरू गरिएका छन्।

 

संगठन सुदृढीकरणका लागि केन्द्रले आवश्यक समन्वय गरेमा समस्या समाधान गरेर पार्टीमा आकर्षण ल्याउन सकिने विश्वास जिल्ला सभापतिहरूको छ।