२०८१ बैशाख २१ , शुक्रवार

आँखुखोला जलविद्युत कम्पनीको १५० प्रतिशत हकप्रद पारित, आँखुखोला–२ जलविद्युत आयोजनमा लगानी गर्ने

सुनाखरी न्युज/ काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले प्रस्ताव गरेको १५० प्रतिशत हकप्रद सेयर साधारणसभाले पारित गरेको छ । शुक्रबार अर्पण ब्यांक्वेट, नयाँ बानेश्वर काठमाडौमा सम्पन्न १५ औं साधारणसभाले १: १.५ को अनुपात हकप्रद सेयर पारित गरेको हो ।

कम्पनीले हकप्रद सेयरबाट उठेको पुँजीले गणेश हिमाल हाइड्रोपावरले प्रवद्र्धन गर्न लागेको २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्ने छ । सो आयोजनामा कम्पनीले ६० प्रतिशत लगानी गर्ने र बाँकी रकमबाट बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानी गर्ने कम्पनीले जनएको छ । यस्तै, सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरि पारित गरेको छ । यस्तै, आर्थिक वर्ष २०७९–८० को लागि लेखापरीक्षक नियुक्त गर्नुको साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभालाई सम्बोधन गर्दै आँखुखोला जलविद्युत कम्पनीका अध्यक्ष राम श्रेष्ठले सेयरधनीहरुको हकहितको लागि आफूहरु लागि रहने बताए । सभामा २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनाको बारेमा कम्पनीका सल्लाहकार उत्सव बरालले सेयरधनीहरुलाई जानकारी दिएका थिए । सभामा बोल्ने सेयरधनीहरुले हकप्रद सेयरको प्रस्तावलाई स्वागत गर्दै नयाँ प्रजोक्टको लागि शुभकामना दिएका थिए । भव्य र सभ्यरुपले सम्पन्न भएको साधारणसभालाई कम्पनी सचिव शम्भु तिमल्सिनाले कार्यक्रम संचालन गरेका थिए ।