२०८१ बैशाख १६ , आइतवार

दूरसञ्चार सेवा गुणस्तरीय र भरपर्दो बनाउन आवश्यक : मुख्यमन्त्री पाण्डे

सुनाखरी न्युज/ काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सूचना प्रविधिले संसार साँघुरो बनाएको अवस्थामा नेपाल दूरसञ्चार प्राधिकरणले पनि सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

 

नेपाल दूरसञ्चार प्राधिकरण काठमाडाँैद्वारा पोखरामा आज आयोजित गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था र गुणस्तरीयतामा सेवाप्रदायक तथा सरोकारवालासँग आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले अहिले सहजै टेलिफोन प्राप्त गर्न सकिने अवस्था आएको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “ दूरसञ्चार प्राधिकरणले आफूलाई विश्वको प्रविधिसँग प्रतिस्पर्धी बनाउन सक्नुपर्छ ।”

सूचना प्रविधिसम्बन्धी निजी क्षेत्रबाट सञ्चालित कम्पनीले दू्रतगतिमा फड्को मारेको अवस्थामा अर्धसरकारी निकाय नेपाल टेलिकमले पनि आफ्नो सेवा गुणस्तरीय र भरपर्दो बनाउन आवश्यक रहेको भनाइ उहाँको छ । “हिमाली र उच्च पहाडी क्षेत्रमा पनि दूरसञ्चार प्राधिकरणको बलियो उपस्थिति हुनुपर्ने देखिएको छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “अझै पनि दुर्गम क्षेत्रमा दूरसञ्चार क्षेत्रले आफ्नो प्रभावकारी उपस्थिति देखाउन सकेको छैन ।”

 

कम नाफा लिएर भए पनि आम सेवाग्राहीलाई सहुलियत दरमा इन्टरनेट र टेलिफोन सेवा उपलब्ध गराउनुपर्नेमा उहाँले सुझाव दिनुभयो । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोग भएको गुनासोसमेत उहाँले राख्नुभयो । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्ण देवकोटाले दूरसञ्चार प्राधिकरणले सेवाको गुणस्तरलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । हरेक व्यक्तिसँग जोडिएको यो सेवालाई प्रभावकारी र सवल बनाउन सकेनौँ भने हामी पछि पर्छौँ डा न्यौपानेले भन्नुभयो ।

 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तमप्रसाद खनालले गुणस्तरीय सेवाका लागि सबैको चासो भएकाले त्यसतर्फ हाम्रो ध्यान जाने विश्वास दिलाउनुभयो । नियमित विद्युत् सेवा प्राप्त हुनसकेन भने यो सेवा प्रभावकारी बन्न नसक्ने भएकाले विद्युत् प्राधिकरणको सहयोग पनि आवश्यक रहने भनाइ उहाँको छ । मध्यपहाडी लोकमार्गलाई आधार बनाएर अप्टिकल फाइबर सञ्चालनको तयारी पनि दूरसञ्चार प्राधिकरणले सुरु गरेको जानकारी अध्यक्ष खनालले दिनुभयो । प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले दूरसञ्चार क्षेत्रमा देखापरेको समस्या, वास्तविकताका बारेमा प्रकाश पार्दै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस