२०८१ बैशाख २२ , शनिवार

‘पठान’ फिल्म जापानमा ,कहिले हुँदै छ प्रदर्शन ?

सुनाखरी न्युज/ काठमाडौं । बलिउड अभिनेता शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनीत फिल्म ‘पठान’ जापानमा प्रदर्शन हुने भएको छ।

 

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार जापनिज सबटाइटलसहित फिल्म सेक्टेम्बर १ अर्थात भदौ १ गतेदेखि प्रदर्शन हुनेछ। ‘पठान’ भारतमा सबैभन्दा बढी कमाउने हिन्दी फिल्म हो। फिल्मले हिन्दी बक्स अफिसमा ५४३ करोड ५ लाख भारू कमाएको छ। यसअघि यो रेकर्ड दक्षिण भारतीय फिल्म ‘बाहुबली २’ को नाममा थियो। सन् २०१७ मा प्रदर्शन भएको ‘बाहुबली’ ले हिन्दी बक्स अफिसमा ५१०.९९ करोड कमाएको थियो। यसरी शाहरूख खानको फिल्मले करिब ६ वर्ष पुरानो प्रभासको फिल्म ‘बाहुबली २’ को कीर्तिमान तोडेका हुन्।

 

‘पठान’ ले विश्वभरबाट १ हजार करोड भारूमाथि कमाइ गरेको छ। सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको अतिथि भूमिका छ। यो फिल्ममार्फत शाहरूख खानले चार वर्षपछि कमब्याक गरेका हुन्। शाहरूख भारतीय सैनिकको भूमिकामा देखिएका छन् भने दीपिका पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट र जोन खलनायकको भूमिकामा छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा श्रीधर राघवन र संवाद अब्बास टायरवालाले तयार पारेका हुन्।