२०८१ बैशाख २३ , आइतवार

अभिनेत्री आँचल शर्मा एकाएक विवादमा

सुनाखरी न्युज/ काठमाडौं । अभिनेत्री आँचल शर्मा एकाएक विवादमा तानिएकी छन् । एक फेसन कार्यक्रममा ‘बडी सेमिङ’ गरेको भन्दै उनीमाथि नेटिजन खनिएका छन् । उनले दिएको विवादित बयानको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

 

चार दिनअघि काठमाडौंमा आईसीसी डिजाइनर रनवे १२ को अडिसन कार्यक्रम आयोजना भएको थियो । निर्णायकको हैसियतमा आँचल त्यहाँ उपस्थित थिइन् । आयोजकले अडिसनलाई इन्स्टाग्राममा पनि लाइभ गरिरहेका थिए । अडिसन दिने क्रम पनि चलिरहेको थियो । सोही क्रममा आँचलले अडिसन दिइरहेका एक मोडलप्रति लक्षित गर्दै भनेको अभिव्यक्ति सार्वजनिक भएको छ । उक्त सार्वजनिक भिडियोमा आँचलले ‘उसले केही खाँदैन कि क्या हो’ भन्दा नजिक रहेका एक पुरुषले ‘मेन्टेन’ गरेको होला भन्ने जवाफ दिएका छन् । आँचलले यसलाई मेन्टेन गरेको भनिंदैन कुपोषण भएको भनिन्छ भनेर जवाफ दिएकी छन् ।

 

यो भिडियो यतिबेला टिकटकसहितका सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेको छ । आँचलको उक्त अभिव्यक्ति कुनै व्यक्तिको शरीरलाई हियाउने (बडी सेमिङ) भएको चर्को विरोध भएको छ । यसले व्यक्तिमा गम्भीर मानसिक समस्या निम्त्याउन सक्ने उनीहरुको टिप्पणी छ । अधिकांशले आँचललाई जवाफ दिंदै कसैको शरीरलाई मूल्यांकन गर्ने अधिकार उनलाई नभएको बताएका छन् । प्रयोगकर्ताले आँचलको यो अभिव्यक्तिविरुद्ध बोल्न अन्य सेलिब्रिटीलाई समेत आग्रह गरेका छन् ।