२०८३ श्रावण २० , बुधवार

गुरुयोजनाभन्दा फरक ढङ्गले निर्माण भयो ‘डम्फु जीवन्त सङ्ग्रहालय उद्यान’

सुनाखरी न्युज/ काठमाडौं । बजेट अभावका कारण विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ कालढुङ्गामा निर्माणाधीन उद्यानसहितको डम्फु जीवन्त सङ्ग्रहालय विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भन्दा फरक ढङ्गले निर्माण भएको छ ।
डीपीआर बनाउँदा माटो परीक्षणविना नै निर्माण गरेकोमा भौगोलिक संरचनाको अध्ययनपश्चात फरक ढङ्गले निर्माण गर्नुपर्ने भएको जनाइएको छ । रोशी गाउँपालिकाका इञ्जिनियर भुपेन्द्र अधिकारीका अनुसार उद्यान निर्माणस्थल बलौटे माटो थुप्रिएर बनेको र नजिकै बगिरहेको भ्याकुरे खोलाले कुनै पनि बेला असर गर्नसक्ने अवस्था देखिएका कारण विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भन्दा फरक ढङ्गले निर्माण गर्नुपरेको बताउनुभयो ।
  अहिले निर्माण भएको संरचनाहरूमा डम्फुबाहेक भवन, शौचालयलगायतका संरचना उद्यानको अर्को दिशातर्फ बनाउनुपरेको उहाँले बताउनुभयो । “उद्यान बनाउने क्षेत्र र क्षेत्रफल त्यही भए पनि पुरुवा बलौटे माटो भएको ठाउँ भएकाले बलियो जग राख्नका लागि अलि फरक स्थानमा बनाउनु परेको हो” उहाँले भन्नुभयो, “सुरुकै गुरुयोजनाअनुसार बनाउँदा फाउन्डेसन निकै तलबाट उठाउनुपर्ने हुँदा लागत बढी लाग्ने भएपछि संरचना निर्माणको कामलाई केही परिमार्जन गरिएको हो ।” गुरुयोजनामा डम्फुको पछाडिपट्टि निर्माण गर्नुपर्ने सङ्ग्रहालय र पुस्तकालयको भवन तथा शौचालय बायाँतर्फको ठाउँमा निर्माण गरिएको छ ।
अहिले सो उद्यान क्षेत्रमा निर्माण सम्पन्न भइसकेको डम्फु आकृतिको संरचनाबाहेक सङ्ग्रहालय र पुस्तकालयको भवन, शौचालय, सेल्फी प्वाइन्ट, फुड इन्स्टल, पार्किङ स्थल र घेराबारको काम भइरहेको छ । इञ्जिनियर अधिकारीका अनुसार करिब रु छ करोडको लागतमा सो जीवन्त सङ्ग्रहालय निर्माण हुनेछ । यसको पहिलो चरणमा रु एक करोड ८४ लाखमा डम्फुको आकृति निर्माणका लागि फाउन्डेशन निर्माण, दोस्रो चरणमा रु एक करोड २५ लाखमा डम्फु निर्माण र अहिले तेस्रो चरणमा रु दई करोड २५ लाखमा थप संरचनाहरू निर्माण भइरहेको उहाँले बताउनुभयो ।
माटो परीक्षणका क्रममा पहिलाको संरचनाअनुसार निर्माण गर्दा जग बलियो बनाउन फाउन्डेशन निर्माणका लागि धेरै लागत लाग्ने भएकाले त्यहीअनुसार निर्माण गरेको खण्डमा करिब रु पाँच करोड थप लागत लाग्ने उहाँको भनाइ छ ।
गाउँपालिकाका निवर्तमान अध्यक्ष दलबहादुर लामाले डम्फु जीवन्त सङ्ग्रहालय निर्माणका क्रममा गुरुयोजनाभन्दा फरक ढङ्गले निर्माण गर्न लागेको पाएपछि पालिका र इञ्जिनियरको ध्यानाकर्षण गराएको बताउनुभयो । अहिले निर्माण गरेको डम्फु आकृतिको माथिल्लो भागमा चराको आकृति नराखेको पाइएपछि त्यसलाई सोहीअनुरूप निर्माण गर्न ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।
“हामीले रोशीको फरक पहिचान दिलाउनका लागि अगाडि बढाएको गौरवको आयोजना ‘डम्फु जीवन्त सङ्ग्रहालय’को विस्तृत परियोजना प्रतिवेदनलाई तोडमोड गरेरभन्दा पनि सोहीअनुरूप निर्माण गर्दा नै अतिउत्तम हुनेछ” उहाँले भन्नुभयो, “इञ्जिनियरले पनि सल्लाह सुझाव लिइरहेको र काम पनि अगाडि बढिरहेकोले फरक ढङ्गबाट निर्माण हुनेछैन भन्नेमा विश्वस्त छु ।”
साठी रोपनी जग्गा व्यवस्थापन गरी निर्माण भइरहेको सङ्ग्रहालयलाई बहुउपयोगी हुनेगरी बन्दै गरेको उद्यान सम्पन्न भएपछि पर्यटकको चहलपहल हुनेसमेत विश्वास गरिएको छ ।
गाउँपालिका अध्यक्ष दिनेश लामाले यसै आर्थिक वर्षमा भौतिक संरचना निर्माण कार्य सम्पन्न गरी जीवन्त सङ्ग्रहालयका लागि आवश्यक पर्ने सबै सङ्ग्रहको काम अबको एक वर्षभित्रमा सकाउने गरी काम भइरहेको बताउनुभयो । “अहिले सङ्ग्रहालयको भवन र टिकट घर निर्माणको चरणमा रहेको छ” उहाँले भन्नुभयो, “पूरै कम्पाउन्ड वाल लगाउने, शौचालय निर्माण गर्ने, बगैँचा निर्माण, मूल प्रवेशद्वारदेखि डम्फुसम्म ढुङ्गा बिछ्याउनेलगायतको काम भइरहेको छ ।”
राजमार्ग छेउमा नयाँ ढङ्गको उद्यानसहित संरचना ठडिएपछि अहिले सबैको आकर्षणको थलो बन्दै गएको छ । विपी राजमार्ग भएर यात्रा गर्ने जोकोहीको मन पनि कालढुङ्गामा पुगेपछि सडक छेउमा भएको ठूलो आकृतिको ‘डम्फु स्तम्भ’मा अडिने गरेको छ । सडक छेउमा नै निर्माण गरिएको सो डम्फु आकृतिको दृश्यले आँखा टक्क अडिने मात्रै नभई त्यसलाई आफ्नो तस्बिरमा कैद गर्ने थलोसमेत बनेको छ ।
विशेषगरी निजी सवारी साधनमा यात्रारतहरूका लागि सेल्फी खिच्ने केन्द्र बनेको छ भने सार्वजनिक सवारी साधनमा यात्रा गर्नेहरूका लागिसमेत मोबाइलमा कैद गर्ने आकर्षक दृश्य बनेको छ । डम्फु स्तम्भ निर्माण सम्पन्न भएसँगै सो राजमार्ग भएर आवतजावत गर्नेहरू दैनिक सयौँको सङ्ख्यामा सेल्फी खिच्नेको भीड बढेको छ ।
अहिले सो ठाउँ थकान मेटाउनका लागि मात्रैभन्दा पनि नयाँ कुरा सिक्ने र बुझ्ने अवसरको केन्द्रका रूपमा समेत परिचित हुँदै गएको छ । सङ्घीय राजधानी काठमाडौँबाट पूर्वका जिल्लाहरूमा जाने मुख्य नाकाको रूपमा रहेको काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका त्यही विपी राजमार्ग रोशी खोलाको किनारैकिनार नागबेली भएर बनेको छ । तामाङ समुदायको बाहुल्य रहेको सो क्षेत्रमा एकातिर सांस्कृतिक पहिचानको संरक्षण र संवर्द्धन हुने अर्कोतिर विश्रामस्थललाई थप आकर्षणको केन्द्र बनाउने उद्देश्यका साथ डम्फु स्तम्भसँगै जीवन्त सङ्ग्रहालय निर्माण रहेको हो ।  रासस/ पेमा लामा