२०८१ जेठ ६ , आइतवार

हास्य कलाकार रातामकैले पत्रकारलाई गरे सम्मान

सुनाखरी न्युज/ काठमाडौं । लोकप्रिय हास्य अभिनेता किरण केसी (रातामकै) ले सधैझै यसपालि पनि आफ्नो जन्मदिनका अवसरमा आफुले  काम गर्दै आएको हास्यव्यंग्य विधाका कलाकारका साथमा पत्रकारलाई सम्मान गरेका छन्।

 

किरणले जन्मदिनको अवसर पारेर गत शुक्रबार ललितपुरको इमाडोलस्थित रातामकै चोक अवस्थित इन्द्रेणी पार्टी प्यालेसमा कलाकार, पत्रकार र समाजसेवीलाई सम्मान गर्दै ६६औं जन्मदिन मनाएका हुन्। कार्यक्रममा लोकप्रिय हास्यव्यंग्य कवि शैलेन्द्र सिंखडा, हास्य अभिनेता शिवहरि वैरागी तथा पत्रकार प्रकाश सुवेदीलाई जनही १५ हजार रुपियाँसहित सम्मान गरिएको थियो।

 

त्यसै गरी हास्यकलाकार कैलाश कार्की, समाजसेवी च्यान्टी सुवेदी र मिठू केसीलाई जनही पाँच हजार रुपियाँसहित सम्मान प्रदान गरेका थिए। समारोहमा कलाकार श्याम केसी, मनहरी भण्डारी र शिक्षाविद् सुलभ ढाथोकीलाई पनि सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवशं आचार्यको साथमा किरणले सो सम्मान हस्तान्तरण गरेका थिए।