२०८१ बैशाख २१ , शुक्रवार

‘डायलासिस’ उपकरण व्यवस्था मिलाउन माग

सुनाखरी न्युज /  काठमाडौं । तनहुँको आँबुखैरेनी अस्पतालमा ‘डायलासिस’ उपकरण व्यवस्थाका लागि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ । आँबुखैरेनी गाउँपालिका–३ का वडाध्यक्ष दिनेश केसीले आइतबार कांग्रेस सभापति देउवालाई भेट गर्नुभइ सो आग्रह गर्नुभएको हो ।
सो अवसरमा वडाध्यक्ष केसीले अस्पतालमा रक्त सञ्चारका लागि पनि आवश्यक उपकरणको व्यवस्था मिलाउन पहल गरिदिन सभापति देउवालाई आग्रह गर्नुभएको थियो । सभापति देउवाले अस्पतालका लागि डायलासिस उपकरण व्यवस्थाका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई आग्रह गर्ने जानकारी दिनुभएको वडाध्यक्ष केसीले बताउनुभयो ।
ऑबुखैरेनी गाउँपालिकाले आगामी आव २०८०÷८१ मा अस्पतालमै डायलासिस सेवा सुरु गर्ने जनाएको छ । यसका लागि गाउँपालिकाले नीति तथा कार्यक्रममै यसलाई उल्लेख गरेको छ । गाउँपालिकाभित्र करिब २५ मिर्गौला पीडित रहेकाले उनीहरूलाई सहजरूपमा सेवा दिन अस्पतालमा डायलासिस सेन्टर स्थापना गरिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका मिर्गौला बिरामीहरू भरतपुर, दमौली, पोखरासम्म पुगेर डायलासिस गर्नुपर्ने बाध्यता छ । तैपनि भनेको बेला समय नपाउँदा उहाँहरूलाई निकै दुःख भइरहेको छ । त्यस्तो अवस्थाका अन्त्यका लागि आगामी आर्थिक वर्ष आँबुखैरेनीमा नै यो सेवा दिनेछौँ ।”
हाल तनहुँमा दमौली अस्पतालमा मात्रै डायलासिस उपकरण सञ्चालनमा छ । मिर्गौला पीडितको सङ्ख्या बढेसँगै यहाँ सेवा लिनका लागि पालो पर्खनुपर्ने अवस्था छ । दमौली अस्पतालमा ११ उपकरण रहेकामा बिग्रिएर हाल चार वटाले मात्रै सेवा दिइरहेको छ ।
उपकरण थोरै हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या हुने गरेको छ । स्वास्थ्य मन्त्रालयले दमौली अस्पताललाई दुई  नयाँ उपकरण पठाएको छ । प्रदेश सरकारमार्फत दमौली अस्पतालमा दुई उपकरण आइपुगे पनि जडान हुन बाँकी रहेको छ ।
चारवटा उपकरण सञ्चालनमा हुँदा दैनिक १६ जनाले मात्रै सेवा पाउने अवस्था रहेको केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रमा हाल डायलासिस सेवा लिने कूल सङ्ख्या ५० जना रहेका छन् । तर अझै ३०  मिर्गौला पीडित डायलासिसका लागि पालो पर्खिंदै छन् ।
गाउँपालिकाले आँबुखैरेनी अस्पतालको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षमा अस्पतालबाट शल्यक्रिया सेवा सुरु गरिने पालिका अध्यक्ष चुमानले बताउनुभयो । उहाँले भन्नुभयो, “ठूला शल्यक्रिया गर्नुपरेमा महिना एक पटक विशेषज्ञ चिकित्सक ल्याएर सेवा दिइनेछ । केही शल्यक्रिया भने नियमितरूपमा अस्पतालमै हुनेछ ।”
गाउँपालिकाले जनतासँग स्वास्थ्य कार्यक्रममार्फत ज्येष्ठ नागरिकलाई महिनाको एकपटक घरमै पुगेर सेवा प्रदान गर्ने नीति लिएको छ । अध्यक्ष चुमानले महिलाको प्रजनन् स्वास्थ्य, पाठेघर क्यान्सर परीक्षण कार्यक्रमलाई जोड दिइएको बताउनुभयो । गाउँपालिकाभित्रका सर्वसाधारणलाई क्यान्सर रोग लागेमा रु ५० हजार आर्थिक सहायता दिने कार्यक्रमलाई आगामी वर्षमा निरन्तरता दिइएको उहाँले उल्लेख गर्नुभयो ।  रासस