२०८१ बैशाख १७ , सोमवार

सुरक्षाको प्रत्याभूति गर्न नसके बैंक तथा वित्तीय संस्था बन्द गर्नुपर्ने अवस्था आउन सक्छ : सिबिफिन

सुनाखरी न्युज/ काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले सम्बन्धित निकायहरुले सुरक्षाको प्रत्याभूति गर्न नसके बैंक तथा वित्तीय संस्था बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ।

 

सिबिफिनले आज एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो। ‘यदि निर्वाध रुपमा सुरक्षित वातावरणमा प्रचलित ऐन–काुनद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदत्त अधिकारको प्रयोग गर्दै सोहीबमोजिम निर्देशित बैंक तथा वित्तीय संस्थाहरुले बहन गर्नुपर्ने कर्तव्य तथा जिम्मेवार पूरा गर्न सहज वातावरणको सुनिश्चितता नेपाल सरकार र सोअन्तर्गतका निकायहरुबाट हुन नसक्ने हो भने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सेवा पूर्ण रुपमा बन्द गर्नुपर्ने परिस्थिति सिर्जना हुन सक्नेतर्फ सचेत गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘यसबाट आमनिक्षेपकर्ता, ऋणीलगायत सम्पूर्ण सरोकारावालाहरुको हक, हित संरक्षण तथा सम्बर्द्धनमा गम्भीर संकट उत्पन्न हुने र यसबाट अन्ततोगत्वा समग्र अर्थतन्त्रमा नै अकल्पनीय संकट सिर्जना हुन सक्नछर यसबाट अन्ततोगत्वा समग्र अर्थतन्त्रमा नै अकल्पनीय संकट सिर्जना हुन सक्छ।’

 

सिबिफिनले बैंक तथा वित्तीय संस्था र सोमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्ष, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सम्बन्धित सबैसँग माग गरेको छ। कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने र बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाइृ भौतिक आक्रमण गर्दै मानमर्दन गर्ने वा आफ्नो कर्तव्य पालना गर्न असुरक्षित एवं असमर्थ बनाउने लगायत प्रचलित कानुनबाट बर्जित क्रियाकलापहरु देशका विभिन्न स्थानमा निरन्तर रुपमा भइरहेको विज्ञप्तिमा उल्लेख छ।

 

‘त्यस्ता क्रियाकलाप गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाहरुका विरुद्ध अनिवार्य रुपमा मुद्दा चलाउने तथा प्रचलित कानुनबमोजिम कडा कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी गर्नेलगायत बैंक तथा वित्तीय संस्थाका निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारावालाको हकहित संरक्षणका लागि सिबिफन आवश्यक कमद चाल्न कटिबद्ध रहेको जनाएको छ।