२०८१ जेठ ६ , आइतवार

तपाइँले कतै घरमा कछुवा-सुगा पाल्नुभएको छैन ?

सुनाखरी न्युज/ काठमाडौं ।
मानिसहरुले घरमा कछुवा तथा सुगा पाल्ने गरेको पान्छ । तर यो कार्य कानुन विपरित हुन्छ । यस्तो कार्य गर्नेहरु कारवाहीको भागिदार वन्दै आएका छन् भन्दा अचम्म लाग्न सक्छ तर यो सही हो ।

नुवाकोटका २२ वर्षीय एक युवकले  चार महिनाअघि  ‘कछुवा बिक्रीमा छ’ भन्दै फोटोसहित एक अनलाइन प्लेटफर्ममा विज्ञापन गरे। त्यही ठाउँका १५ वर्षीय अर्का किशोरले उक्त पोस्ट सेयर गरे। बिस्तारै त्यो विज्ञापन सामाजिक सञ्जालमा फैलियो। त्यसमा नेपाल प्रहरीको आँखा पर्‍यो। प्रहरीले तत्कालै ती युवक र किशोरको खोजी गरी दुवै जनालाई नियन्त्रणमा लियो र डिभिजन वन कार्यालयमा बुझायो। डिभिजन वन कार्यालय काठमाडौंका सहायक वन अधिकृत अशोक पराजुलीका अनुसार प्रहरीले युवकको घरबाट स-साना १४ वटा कछुवा भेटेको थियो।

 

ती युवकलाई यसरी कछुवा पाल्न र बेच्न पाइँदैन भन्नेबारे कुनै जानकारी थिएन। उनले प्रहरीलाई यही बयान दिएका छन्। तर उनले गरेको काम गैरकानुनी ठहर भयो र कारबाही भोग्नुपर्‍यो। उनीविरूद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अनुसार मुद्दा चलाइएको थियो।

त्यस्तै, तीन महिनाअघि एक महिलाले कछुवा पाल्दा शुभ हुने भन्दै टिकटकमा विज्ञापन गरेकी थिइन्। उक्त भिडिओ वन कार्यालयका कर्मचारीले देखे र प्रहरीलाई खबर गरे। प्रहरीले ती महिलालाई पनि नियन्त्रणमा लिई कानुनी कारबाही अगाडि बढाएको पराजुलीले बताए। उनीसँग भएको कछुवा जफत गरी मुद्दा चलाइयो। उनी बीस हजार रूपैयाँ जरिवाना तिरेर रिहा भइन्। उनले पनि बयानमा कछुवा पाल्न नहुनेबारे अनभिज्ञ रहेको बताएकी थिइन्।

यस्तै प्रकृतिको घटनामा नेपाली मात्र होइन, विदेशी पनि पक्राउ परेका छन्। गत जेठ १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २७ वर्षीय फ्रान्सेली युवक पक्राउ परे। उनको झोलामा चौंरी गाईको खप्परको हाड थियो। यो हाड उनले मनाङ घुम्न जाँदा भेटेका रहेछन्। त्यही हाड बोकेर मनाङ, पोखरा लगायत विभिन्न ठाउँ घुमेर आफ्नो देश फर्किन लाग्दा उनी काठमाडौं विमानस्थलबाट पक्राउ परेका थिए।

प्रहरीले नियन्त्रणमा लिएर उनलाई पनि डिभिजन वन कार्यालयमा बुझाएको थियो। उनले बोकेको खप्पर परीक्षण गरेर हेर्दा घरेलु चौंरी गाईको भएको पाइयो। त्यसैले उक्त हाड जफत गरी युवकलाई छोडिदिएको सहायक वन अधिकृत पराजुलीले जानकारी दिए। यो सबै प्रक्रिया पूरा नहुन्जेल, झन्डै दुई साता ती फ्रान्सेली युवक हिरासतमा बस्नुपर्‍यो।

यी पात्र र घटना प्रतिनिधि मात्र हुन्, वन्यजन्तु ऐनबारे जानकारी नहुँदा उनीहरूजस्ता धेरै जना कानुनी झमेलामा पर्ने गरेको पराजुलीले बताए।