२०८१ बैशाख २२ , शनिवार

२४ वर्षको जागिरमा २० वर्ष बिदामै बसिन् यी शिक्षिका

सुनाखरी न्युज/ काठमाडौं । कार्यालयहरुमा सबैभन्दा राम्रो कार्यसम्पादन गर्ने कर्मचारी महिनाको उत्कृृष्ट कर्मचारी वा वर्षको उत्कृष्ट कर्मचारीजस्ता अवार्ड दिएर सम्मान गर्ने चलन हुन्छ । तर, एकजना महिला कर्मचारीले भने सबैभन्दा खराब कर्मचारीको उपाधि पाएकी छिन् ।उनले आफ्नो काममा यतिधेरै ठगी तथा धोकेबाजी प्रदर्शन गरिन् कि उनीमाथि कम्पनीले कारबाही नै गर्नुपर्‍यो ।

 

यो घटना युरोपेली मुलुक इटालीको हो । आरोपित महिला पेसाले शिक्षिका हुन् र उनले करिब २४ वर्ष जागिर गरिन् । तर आफ्नो २४ वर्षे जागिरका क्रममा उनले २० वर्षसम्म त बिदामै बसेको पाइएको छ । बिदा बस्नका लागि उनले कहिले बिरामीको बहाना बनाइन् त कहिले अरु विभिन्न नाटक गर्दथिन् । तर अन्ततः उनको त्यो कर्तूतको पोल खुलेको छ । उनलाई जागिरबाट बर्खास्त गरिएको छ । ती महिलालाई इटालीकै सबैभन्दा खराब कर्मचारीको उपमा दिइएको छ । डेलीमेलमा प्रकाशित समाचार अनुसार इटालीको भेनिस सहर नजिकैको एक स्कुलमा ५६ वर्षकी सिनजियो पाओलिना डी लियो पछिल्लो २४ वर्षदेखि शिक्षिकाको रुपमा कार्यरत थिइन् । तर, उनले आफ्नो २४ वर्षे करिअरमा केवल ४ वर्षमात्रै विद्यार्थीलाई पढाइन् । बाँकी २० वर्षसम्म उनी विदामा घरमै बसिन् । यसका लागि उनले अनेक खालका बहाना बनाइन् ।

२४ वर्षको जागिर अवधिमा केवल ४ वर्षमात्रै स्कुलमा हाजिर भएपनि उनले तलब भने पूरै लिएकी छिन् । उनलाई साहित्य तथा दर्शन विषय पढाउनका लागि विद्यालयमा नियुक्त गरिएको थियो । तर उनले पढाउनुको साटो कहिले बिरामीको निहुँ पारेर त कहिले विभिन्न सम्मेलनमा भाग लिनका लागि अन्यत्र जानका लागि भन्दै लामो समयसम्म विदा मागेर स्कुलबाट गायब हुन्थिन् । बीचमा आक्कलझुक्कल स्कुल आउँदा पनि उनले राम्रोसँग पढाउन्नथिन् । उनले मनोमानी तरिकाले अंक दिने र कक्षामा पनि सधै मोबाइल चलाएर बस्ने गरेको विद्यार्थीहरु स्वयंले उजुरी गरेका थिए स्कुल प्रशासन समक्ष । कहिलेकाहीँ त बिरामी भएर घरमा आराम गरिरहेको भनेर विदा मागेको बेला केही पटक त उनलाई समुद्री किनारामा घुमिरहेको पनि देखिएको थियो ।

अन्ततः ती ठग शिक्षिकालाई गत जून २२ मा जागिरबाट बर्खास्त् गरिएको छ । उनले त्यसविरुद्ध अदालतमा मुद्दा हालिन् तर अदालतले ती महिला शिक्षिकाको नोकरीका लागि नितान्त अनुपयुक्त रहेको भन्दै उनलाई जागिरबाट हटाउने निर्णयलाई सदर गरिदिएको छ।एजेन्सी