२०८१ जेठ ६ , आइतवार

 उपत्यका प्रहरीको नाम जोडेर आएको समाचार झुटो : प्रहरी

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी कार्यालय र कार्यालय प्रमुख श्यामलाल ज्ञवालीलाई जोडेर नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा प्रकाशित समाचार झुटो भएको जनाइएको छ ।
कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनालीद्वारा आज जारी सूचनामा अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको अनुसन्धानलाई जोडेर तथ्यहीन र भ्रमपूर्ण समाचार सार्वजनिक भएको भन्दै आपत्ति जनाइएको छ ।  कार्यालयले उक्त समाचारमा कुनै सत्यता नभएको समेत बताएको छ ।
यसले प्रहरीलाई अनावश्यक विवादमा ल्याउने काम भएको सूचनामा उल्लेख छ । “प्रहरी सङ्गठनको नेतृत्व र मातहतका निकायबीचको आदेश, कमान्डको शृङ्खला नै खल्बल्याउने, फाटो ल्याउने मनसायले लेखिएको यस्ता प्रकारका समाचार सामग्रीमा कुनै सत्यता नरहेको जानकारी गराउँदै जिम्मेवार सञ्चार संस्थाले तथ्यमा आधारित रहेरमात्र समाचार प्रकाशन, प्रसारण गर्नुको साटो भ्रमपूर्ण सामग्री प्रकाशित गर्दै प्रहरी सङ्गठनलाई विवादमा ल्याउन गरेको उक्त कार्य निन्दनीय छ”, जारी सूचनामा भनिएको छ ।  रासस