२०८१ बैशाख २५ , मंगलबार

‘परस्त्री’ को हिन्दी संस्करण नेपालमा प्रदर्शन नहुने

सुनाखरी न्युज / काठमाडौं । सुरज पाण्डे डेब्यू निर्देशित फिल्म ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शन हुँदैछ। असार १५ गतेदेखि प्रदर्शन हुने फिल्म नेपाली र हिन्दीमा डब गरिएको छ। तर नेपालमा यसको हिन्दी संस्करण प्रदर्शन नहुने भएको छ।

 

फिल्मका निर्देशक पाण्डेले नेपालमा हिन्दी संस्करण प्रदर्शन नहुने जानकारी दिएका हुन्। ‘हामीले निर्माण गरेको नेपाली र हिन्दी भाषाको फिल्म ‘परस्त्री’ यही असार १५ गतेदेखि नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुने कुरा हाम्रा दर्शकहरूलाई जानकारी गराउन चाहन्छु। साथै हिन्दी भाषामा रहेको फिल्म ‘परस्त्री’ को संस्करण भारतमा मात्रै प्रदर्शन हुनेछ भने नेपाली भाषामा रहेको फिल्म ‘परस्त्री’ नेपालमा प्रदर्शन हुनेछ,’ उनले फेसबुकमा लेखेका छन्।

 

उनी यतिबेला फिल्म प्रमोशन र प्रदर्शन गर्न मुम्बईमा पुगेका छन्। विवाहोत्तर सम्बन्धले निम्त्याउने समस्यालाई देखाइएको फिल्ममा शिल्पा मास्के, कोशिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारीलगायत कलाकारको अभिनय छ। यो फिल्म काठमाडौं र मुस्ताङमा छायांकन गरिएको हो। फिल्ममा शर्मिला पाण्डे र दिपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन्। खनाल फिल्मका लेखकसमेत हुन्। निरज कँडेलले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्।