२०८१ जेठ ५ , शनिवार

कर्पोरेट पे मार्फत जेठ महिनामा रु ५० अर्ब भन्दा बढीको कारोबार

सुनाखरी न्युज / काठमाडौं । कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षको जेठ महिनामा रु ५० अर्ब भन्दा बढीको कारोबार फछ्यौट गरी महत्वपूर्ण कोषेढुङ्गा पार गरेको छ । नेपाल क्लियारिंग हाउसका अनुसार कर्पोरेट पे सञ्चालन भएको माघ २०७७ महिना देखि यताको सबैभन्दा अधिक मासिक कारोबार रकम हो ।

 

गत आर्थिक वर्ष कुल रु १०९.५ अर्ब बराबरको भुक्तानी कारोवार फर्छयौट भएको कर्पोरेटपे मा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म भने रु ४२१ अर्ब भन्दा बढिको भुक्तानी कारोबार पछ्यौट भइसकेको छ । बैंक / वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहज रुपमा कर्पोरेट पे मार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुइ गुणाले बृद्धी भएको हो ।

 

नेपाल क्लियारिंग हाउसका अनुसार हाल शैक्षिक संस्थाहरु, कन्स्ट्रक्शन कम्पनीहरु, ट्राभल व्यवसायीहरु, रिटेल व्यवसायीहरु लगायतका विभिन्न संस्थागत ग्राहकहरुले कर्पोरेट पे प्रयोग गर्ने गरेका छन् । ४७ बैंक वित्तिय संस्थाहरु मार्फत् उक्त प्रणालीमा बैंक/वित्तीय संस्थाका ७,७०० भन्दा बढि व्यावसायिक ग्राहकहरु आबद्ध भई कारोबार गर्दै आएका छन् । एउटै प्ल्याटफर्ममा एक भन्दा बढि बैंक खाताहरु लिन्क गरी कारोवारहरु गर्न सक्ने व्यवस्था रहेको यस प्रणाली मार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायत नेपाल आयल निगम, भन्सार विभाग, बीमा समिति, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानीहरु उपलब्ध रहेका छन् । साथै यस प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, फण्ड म्यानेजमेन्ट लगायतको थप सुविधा रहेको छ ।

 

प्रणालीमा रियल टाइममा प्रति कारोबार रु.२० लाख सम्म र नन – रियल टाइम कारोबारको हकमा रु २० करोड सम्म गर्न सकिन्छ ।