२०८१ जेठ ५ , शनिवार

कञ्चनपुर बजेटः पूर्वाधारलाई नै प्राथमिकता

bujet

 

सुनाखरी न्युज / काठमाडौं – कञ्चनपुरका नौ स्थानीय तहले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट सार्वजनिक गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषिमा ‘हाम्रो उपजः हाम्रै प्रयोग’ भन्ने नारा अघि सारेको छ । त्यसैगरी कृषि क्षेत्रमा नगरपालिकालाई आत्मनिर्भर बनाउन व्यावसायिक कृषि खेतीलाई बढोत्तरी हुने गरी कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न आवश्यक सहजीकरण गर्ने नीति लिएको छ ।

 

त्यसैगरी नगरपालिकाले कृषि उत्पादनलाई अभिवृद्धि गर्न ‘एक वडा एक उत्पादन’को नीति अवलम्बन गरेको नगर प्रवक्ता महेन्द्र खड्काले जानकारी दिनुभयो । “कृषकले उत्पादन गरेको कृषि उपजको भण्डारणका लागि शीतगृह र कृषि भण्डारण केन्द्र स्थापना गर्ने गरी बजेटको व्यवस्था मिलाएको छ”, उहाँले भन्नुभयो, “शिक्षामा विद्यार्थीसँग मेयर कार्यक्रम र वडा–वडामा निःशुल्क स्वास्थ्य शिविर गर्ने गर्ने व्यवस्था मिलाएका छौँ ।”

 

उहाँले ‘जेहेन्दार विद्यार्थी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत नगर क्षेत्रका विद्यालयबाट अध्ययन गरेका विपन्न तथा जेहेन्दार विद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था मिलाएको बताउनुभयो । “संस्थागत विद्यालयबाट प्रदान गरिने गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कार्यक्रमलाई कडाइका साथ लागू गरिने छ”, उहाँले भन्नुभयो, “व्यावसायिक ज्ञान, सीप प्रवद्र्धन गर्न पढ्दै कमाउँदै कार्यक्रमलाई थप विस्तार गर्ने गरी बजेट विनियोजन गरिएको छ ।” उहाँले सामुदायिक विद्यालयमा ‘हाम्रो विद्यालय, उत्कृष्ट विद्यालय’ अभियान सञ्चालन गरिने बताउनुभयो ।

 

यसैगरी यहाँको वेदकोट नगरपालिकाले ‘समृद्ध वेदकोट नगरको आधारः कृषि, उद्योग, पर्यटन र पूर्वाधार’ भन्ने मूल नारा अवलम्बन गरेर आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । “शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा ध्यान केन्द्रित गरेका छौँ ।” नगरपालिकाका उपप्रमुख तुलसी जोशीले भन्नुभयो, “नगर गौरवका योजनालाई प्राथमिकताका साथ अघि बढाउने छौँ ।” यहाँको कृष्णपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास प्राथमिकतामा दिएको छ । “यसपटक हामीले स्थानीय स्रोत साधनलाई उपयोग गरेर शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड दिएका छौँ”, नगरप्रमुख हेमराज ओझाले भन्नुभयो, “सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने, सबै नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउँछाँै ।”

 

यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले नगर गौरवका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । नगर प्रमुख रणबहादुर महराले नगरपालिकाले नगर गौरवका योजना प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याएको बताउनुभयो । “बजेटमा नगर गौरवका योजनाहरू प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाको आन्तरिक आय कम छ, सङ्घबाट आउने रकम घटेर आएको छ ।” उहाँले यसपटक बजेट कार्यान्वयनमा नगरपालिकाले जोड दिएको बताउनुभयो । रासस