२०८१ बैशाख २५ , मंगलबार

अवदेखि प्लस टु’को शुल्क विवरण महानगरलाई बुझाउनुपर्ने, निजी विद्यालयको मनपरी शुल्कमा अंकुश लगाउने बालेनको योजना

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका निजी विद्यालयहरुको शुल्क नियमन गर्ने भएको छ । महानगर भित्र पर्ने निजी विद्यालयहरुलाई पत्राचार गर्दै महानगरले कक्षा ११ र १२ (प्लस टु) मा नयाँ शैक्षिक सत्र २०८०-८१ का लागि लिइने शुल्क विवरण बुझाउन निर्देशन दिएको हो ।

५ असारमा सबै विद्यालयहरुलाई पत्राचार गर्दै महानगरले असार मसान्तभित्र सो विवरण पठाउन भनेको छ । ‘विद्यालयहरुले के–के शीर्षकमा के कति शुल्क लिने हो ? महानगरको शिक्षा ऐन २०७५ को दफा २७ (९) बमोजिम पेश गर्नु होला,’ महानगरले भनेको छ । महानगरको तथ्याङ्‍कअनुसार महानगरभित्र ५२० वटा निजी विद्यालयहरु सञ्चालित छन् ।

 

 

शुल्क विवरण पेश गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णय सहित पेश गर्नु पर्ने महानगरको परिपत्रमा भनिएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाकाअनुसार संस्थागत विद्यालयहरुले महँगो शुल्क लिएको गुनासो पछि ऐनले दिएको अधिकार प्रयोग गरेर पहिलो पटक ‘प्लस टु’को शुल्क नियमन गर्न लागिएको हो ।