२०८१ बैशाख २० , बिहिवार

निजामती प्रशासनमा ‘सूचना प्रविधि सेवा’ थप गरिँदै

सुनाखरी न्युज  /  काठमाडौं –  सरकारले सूचना प्रविधिको क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नेगरी निजामती कर्मचारी प्रशासनभित्र नै छुट्टै ‘सूचना प्रविधि सेवा’ थप गर्ने भएको छ । यस क्षेत्रमा कार्यरत जनशक्तिलाई व्यवस्थापन गर्न र सेवालाई आकर्षक बनाउनका लागि त्यस्तो सेवा थप गर्न लागिएको हो । आजदेखि यहाँ सुरु भएको ‘डिजिटल नेपाल कन्क्लेभ’लाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नयाँ निजामती विधेयकमा अन्य सेवा जस्तै सूचना प्रविधि सेवा थप गर्न लागिएको जानकारी दिनुभयो ।

 

विद्यमान निजामती प्रशासनभित्र सूचना तथा प्रविधिका क्षेत्रमा काम गर्ने जनशक्ति भए पनि सेवामा विविधीकरण नहुँदा कार्यसम्पादनमा समेत असर परेकाले सरकारले त्यस्तो सोच बनाएको मन्त्री शर्माले बताउनुभयो ।उहाँले प्रविधिका क्षेत्रमा भएको विकास तथा विस्तारलाई मुलुकको आर्थिक समृद्धि र नागरिकको सहजताका लागि नयाँ सोचका साथ अगाडि बढ्नुपर्ने आवश्यकतालाई सरकारले आत्मसात् गरेको बताउनुभयो ।

 

निजामती प्रशासनभित्र स्थापना हुने त्यस्तो सेवामा कार्यरत कर्मचारीका लागि विशेष तालिम तथा प्रशिक्षणको व्यवस्थासमेत गरिनेछ । संशोधनका लागि अन्तिम चरणमा पुगेको निजामती विधेयकमा त्यस्तो विशिष्टिकृत सेवा थप गर्दा त्यसको लाभ आमनागरिकले लिन पाउने मन्त्री शर्माको भनाइ छ । उहाँले सरकारी निकायका कामकारबाहीलाई थप व्यवस्थित बनाउन सरकार र निजी क्षेत्रको सहकार्य हुनेगरी ‘हाइब्रिड मोडल’ अपनाइने र यसरी सेवा प्रवेश गर्ने कर्मचारीलाई थप सेवासुविधा दिइ सरकारको कामलाई परिणाममुखी र जनता केन्द्रित बनाइने बताउनुभयो ।

 

सुशासन तथा अनियमितता रोक्न सुरु गरिएको अनलाइन सेवाको काम बास्तविकरुपमा अनलाइनबाट हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै सरकारले भौतिक उपस्थितिविना नै काम हुने वातावरण बनाउन लागेको मन्त्री शर्माको भनाइ छ । सरकारले अगाडि सारेको डिजिटल नेपाल अवधारणालाई थप परिमार्जनसहित समयानुकूल बनाएर कार्यान्वयनमा लगिने उहाँको भनाइ छ । “सरकारले यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । आवश्यक स्रोतसाधनको प्रबन्ध गरेको छ । तर, सूचना प्रविधिका क्षेत्रमा दिनदिनै नयाँ प्रगति हुने भएकाले त्यसलाई सम्बोधन गर्नेगरी अगाडि बढ्ने सोच राखिएको छ”, मन्त्री शर्माले भन्नुभयो ।

 

डिजिटल नेपाल अवधारणा कार्यान्वयनका लागि अन्तरसरकारी निकायको समन्वय नै सबैभन्दा महत्वपूर्ण र टड्कारो आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । मन्त्रालयले नै त्यसका लागि विशेष परियोजना तय गरेर काम सुरु गरिसकेको जानकारी दिनुभयो । त्यसैगरी, डिजिटल साक्षरता बढाउने विषय पनि अर्को महत्वपूर्ण काम भएको स्पष्ट पार्दै मन्त्री शर्माले आमनागरिक नै जानकार नहुँदासम्म सरकारले गर्ने लगानीको वास्तविक प्रतिफल प्राप्त हुन नसक्ने बताउनुभयो ।

 

यस क्षेत्रमा थप लगानीको विस्तार, अवसरको खोजी तथा खोज र अनुसन्धानका लागि पनि सरकारले योजनाबद्ध प्रयास थालेको मन्त्री शर्माको भनाइ छ । सञ्चारमन्त्री शर्माले साइबर सुरक्षालगायतका विषयमा नयाँ नीति तथा कानुन तयारीको काम धेरै अगाडि बढेको जानकारी दिनुभयो । उहाँले विगतमा धेरैजसोको ध्यान सञ्चारका क्षेत्रमा मात्रै हुने र प्रविधिको क्षेत्र छुट्ने गरेको बताउँदै आफूले मन्त्रालय सम्हालेपछि सूचना र प्रविधिलाई नै प्रमुख प्राथमिकतामा राखेर योजना अगाडि बढाएकोसमेत जानकारी दिनुभयो ।

 

सूचना र प्रविधिका क्षेत्रमा उल्लेख्य प्रगति गरेका चीन र भारतजस्ता देशका बीचमा हुनुको फाइदा नेपालले लिएर यसबाट रोजगारीको बढोत्तरी तथा अन्य कामकारबाहीलाई समेत सहज बनाउनुपर्ने उहाँको भनाइ छ ।“राम्रा कुरा मुलुकको हितलाई केन्द्रमा राखेर हामीले पनि अनुशरण गर्नुपर्छ । हाम्रो आवश्यकतालाई ध्यान दिँदै विश्वजगतसँगै अगाडि बढ्नु जरुरी भइसकेको छ”, उहाँले भन्नुभयो । रासस