२०८२ चैत्र १ , आइतवार

सातै प्रदेशमा भारी वर्षाको सम्भावना, पश्चिमतर्फ बढ्यो मनसुन

सुनाखरी न्युज/ काठमाडौं ।
सातै प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागले यस्तो जानकारी दिएको हो ।
जेठ ३१ गते नेपाल प्रवेश गरेको मनसुनी वायु पश्चिमतर्फ फैलने क्रममा छ।

बिपरजोय चक्रवात र न्यूनचापीय क्षेत्रको असरका कारण नेपाल भित्रिएको एक सातासम्म मनसुन पश्चिमसम्मै फैलन सकेको थिएन। अब एकदुई दिनभित्रै मनसुन देशभर फैलने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मौसमविद् शान्ती कँडेलका अनुसार अहिले पूर्वदेखि पश्चिमसम्मै तराईका भूभागहरूमा वर्षा भइरहेको छ। पहाडी भूभागहरुमा गएरातिदेखि पानी परिरहेको छ। यो क्रम अब देशैभरी चल्ने उनले बताइन्। ‘मनसुन विस्तारै पश्चिमतिर प्रोग्रेस गर्ने क्रममा छ। जसले गर्दा हिँजोअस्तीदेखि नै तापक्रम घटिसकेको अवस्था छ। वर्षाका गतिविधि बढिराखेका छन्,’ उनले भनिन्,अस्तिअस्ति पूर्वतिर मात्रै पानी पर्ने र पश्चिम तराई पूरै सुख्खा थियो अब त्यो अवस्था छैन।’

मौसमविद् कँडलेका अनुसार आगामी चौबिस घन्टामा सात वटै प्रदेशमा भारी वर्षाको सम्भावना छ। पूर्वी तथा मध्य भू(भागमा मनसुनी प्रणाली र बाँकी भूभागमा भारतको उत्तरप्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले देशभरको मौसम बदली भएको छ।