२०८१ जेठ ५ , शनिवार

उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेविरूद्धको मुद्दा फिर्ता नगर्न अन्तरिम आदेश

सुनाखरी न्युज/ काठमाडौं ।
उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेविरूद्धको मुद्दा फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न  सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। बिहीबार सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले अन्तरिम आदेश जारी गरेको हो।

सरकारले मुद्दा फिर्ता गरेपछि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउनेले सर्वोच्चमा रिट हालेका थिए। उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले मुद्दा फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको अधिवक्ता राधिका खतिवडाले जानकारी दिइन्।

सर्वोच्चले मुद्दा फिर्ता गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश पनि जारी गरेको छ। सरकारले गत जेठ ३० गते चलाउनेमाथि सांघातिक आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि उपप्राध्यापक चलाउने त्रिवि परिसरमा अनसन बसेका छन्।

अन्तरिम आदेश जारी भएसँगै आफूले आंशिक रूपमा मुद्दा जितेको उनको भनाइ छ। यद्यपि अनसन जारी नै राख्ने उनले बताए। उनले आफ्नो अनसन मुद्दा जितेपछि मात्रै तोड्ने बताए।

नेविसंघ त्रिवि समितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल, रुपेश शाह, रविन लामा, सहयुज श्रेष्ठ, निरज रानामगर र दीपक ओझाले उपप्राध्यापक चलाउनेमाथि कुटपिट गरेको आरोप छ। उनीहरूले २०७७ साल असोज २० गते चलाउनेमाथि कुटपिट गरेका थिए।