२०८१ जेठ ५ , शनिवार

नागरिकता विधेयक प्रमाणीकरण विवाद : आजै आदेश आउने

सुनाखरी न्युज/ काठमाडौं । न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले बहसका लागि ४:३० बजेसम्मको समय दिएका हुन् । बहसका लागि सुरुमा रिट निवेदकका तर्फबाट बिहान ११:२५ बजेदेखि अपराह्न १ बजेसम्मको समय निर्धारण गरिएको छ । त्यसै गरी सरकारी वकिललाई बहस गर्नका लागि अपराह्न १ बजेदेखि ३ बजेसम्मको समय दिइएको छ । खाजा समय भए पनि सुनुवाइ जारी रहने न्यायाधीश आनन्दमोहन भट्टराईले इजलासमा सर्कुलर जारी गरेका छन् ।

 

उक्त रिटमा सरोकारवालाको तर्फबाट बहस गर्न अपराह्न ३ बजेदेखि ४ बजेसम्मको समय दिइएको छ । सबैको बहस सकिएपछि जवाफ दिनुपर्ने भएमा वा थप प्रस्ट पार्नुपर्ने भएमा रिट निवेदकहरुलाई थप आधा घण्टाको समय दिइएको छ । यसरी ढिलोमा ४:३० बजेसम्ममा बहस सक्न न्यायाधीश भट्टराईले सर्कुलर जारी गरेका छन् । बिहान ११:२५ बाट सुरु भएको बहसमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बहस सकाएका छन् । त्यसपछि वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले प्रमाणीकरणका विरुद्ध बहस गरेका छन् ।

 

पूर्ववर्ती सरकारले पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी होल्ड गरेको विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि त्यसको विरुद्धमा रिट परेको थियो । राष्ट्रपतिले कानुन र संविधान विपरीतको काम गरेको भन्दै प्रमाणीकरण विरुद्ध रिट परेको थियो ।