२०८१ बैशाख २१ , शुक्रवार

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बिक्री खुला

IPO

सुनाखरी न्युज/ काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार ७ गतेदेखि आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ।

 

नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशतले हुन आउने २४ लाख ९८ हजार ४० कित्ता आईपीओ बिक्री खुला गर्न अनुमति दिएको छ। जसमा कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने ५ करोड ९ लाख ८० हजार रुपैयाँबराबरको अर्थात १०० अंकित दरका कुल ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गरेको हो। स्थानीयका लागि जारी आईपीओमा २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा दैलेखको अति आयोजना प्रभावित क्षेत्र नौमुले गाउँपालिका–३ का बासिन्दाले आवेदन दिन पाउनेछन्। बाँकी २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा नौमुले गाउँपालिका–३ बाहेक दैलेख जिल्लावासीले खरिद आवेदन दिन पाउनेछन्। यसैगरी कम्पनीले जारी पुँजीको ३९ प्रतिशत अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता सर्वसाधारणका लागि छुट्याएको छ। त्यसमा १० प्रतिशतले हुन आउने १ लाख ९८ हजार ८२४ कित्तामा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको छ।

 

यो आईपीओमा स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकले न्यूनतम १० कित्तादेखि अधिकतममा २५ हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्। स्थानीयले आयोजनास्थल (नौमुले बजार), दैलेखस्थित एनआईसी एसिया बैंक (नयाँबजार), ग्लोबल आइएमई बैंक (देवकोटा चोक) र प्रभु बैंक (नयाँबजार)बाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। स्थानीयका लागि जारी आईपीओको बिक्री बन्द छिटोमा असार २१ गते र ढिलोमा साउन ५ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने असार २१ गतेसम्म आवेदन दिन पाउनेछन्। अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।