२०८२ फाल्गुन ३० , शनिवार

त्रिभुवन विमानस्थलमा भित्र जडान गरियो फोहोर नष्ट गर्ने मेसिन, अवदेखि बाहिर फोहोर नपठाइने

tia

सुनाखरी न्युज/ काठमाडौं ।

त्रिभुवन विमानस्थलबाट उत्पादन हुने फोहोर अब विमानस्थल भित्रै नष्ट गरिने भएको छ । विमानस्थल भित्र फोहोर व्यवस्थापन गर्न दुई वटा मेसिन जडान गरिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौंस्थित  त्रिभुवन विमानस्थलको आन्तरिक पार्किङ वे अगाडि फोहोर नष्ट गर्ने मेसिन ‘इन्सिनरेटर’ सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलले आफूले उत्पादन गरेको फोहोर व्यवस्थापन आफैं गर्न सक्षम हुने अन्तर्राष्ट्रिय अभ्यास अनुसार नेपालमा समेत मेसिन जडान गरिएको बताए । ‘हामी आत्मनिर्भर हुनुपर्छ भन्ने अवधारणा हो, यसले हवाई सुरक्षा अभिवृद्धिमा पनि ठूलो सहयोग गर्छ,’ उनले भने ।

 

विमानस्थल भित्र प्राकृतिक रुपमा उत्पादित फोहोर, कागजातसहित ठोस पदार्थहरुलाई यो मेसिनका माध्यमबाट नष्ट गर्न सकिने त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकार दिए । प्लाष्टिक, फलामरस्टिलसहितका खनिजजन्य र तरल पदार्थको व्यवस्थापन भने यो मेसिनबाट नगरिने उनले बताए । ‘प्राकृतिक दृष्टिकोणले जलाउन नमिल्ने बाहेक अन्य फोहोर यसै मेसिनबाट नष्ट हुनेछ’ उनले भने ।

विमानस्थल भित्र यात्रु, वायुयान, कार्यालय र रेष्टुराँबाट बढी फोहोर उत्पादन हुने गर्छ । त्रिभुवन विमानस्थलबाट दैनिक ४ ट्रकसम्म फोहोर उत्पादन हुने सिटौलाले जानकारी दिए । विमानस्थल भित्र जहाज मर्मत हुने स्थान भन्दा बाहेकबाट उत्पादन हुने फोहोर कागज, प्लाइउड, काष्ठजन्य तथा धुलोजन्य हुने भएकाले धेरैजसो फोहोर नष्ट गर्न सकिने बताइएको छ ।