२०८१ बैशाख २१ , शुक्रवार

अन्तरबैंक ब्याजदर डेढ वर्षकै कम

Bank

सुनाखरी न्युज/काठमाडौं ।
बैंकहरूले एक आपसमा लिने सापटीको (अन्तरबैंक) ब्याजदर डेढ वर्षयताकै न्यून भएको छ। बैंकहरूमा लगानी योग्य पुँजी वृद्धि हुँदै गएपछि अन्तरबैंक ब्याजदर २०७९ माघ १६ गतेयताकै न्यून बिन्दुमा आएको हो। सो समय यस्तो ब्याजदर ४.०७ प्रतिशत रहेकोमा गत असार ४ गते ४.०९ बिन्दुमा आइपुगेको छ।

यो अवधिमा लामो समयसम्म करिब ७ प्रतिशत बिन्दुकै आसपास रहेको यस्तो ब्याजदर असार लागेसँगै ५ प्रतिशतबाट तल ओर्लिन थालेको हो।

कर्जाको मागमा आएको शिथिलताको कारण बैंकहरूमा लगानी योग्य पुँजी थपिँदै गएको हो। बैंकहरूमा पुँजी सहज भएकै कारण राष्ट्र बैंकबाट जारी हुने ट्रेजरी विल्स र विकास ऋणपत्रहरूको ब्याजदर पनि घट्दै गएको छ।

बैंकहरूले खरिद गर्ने यस्ता ऋणपत्रमा तलरताको कारण उच्च प्रतिस्पर्धा हुँदा दर कम भएको हो।

मंगलबार राष्ट्र बैंकले जारी गरेको ६ वर्षे अवधिको विकास ऋणपत्रको ब्याजदर ६।९३ प्रतिशत कायम भएको छ। यो गत भदौ यताकै न्यून हो।

हाल बैंकहरूसँग करिब ३ खर्ब ५४ अर्ब बराबरको कर्जा लगानी योग्य पुँजी छ।

बैंकहरूले निक्षेप र यसमा गणना हुने केही ऋणपत्रसहित रकमको ९० प्रतिशतसम्म कर्जा जारी गर्न पाउँछन्। यसलाई कर्जा निक्षेप अनुपात भनिन्छ।