२०८१ बैशाख २० , बिहिवार

किन दिइन मेयर बालेनको शिक्षा सल्लाहकार रेशुले राजीनामा ?

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् । अर्याललाई  गत भदौमा महानगरको कार्यपालिका बैठकले शिक्षा सल्लाहाकार नियुक्त गरेको थियो ।

 

उनले पछिल्ला घटनाक्रममा महानगरका मेयर साहले लिएका निर्णय आफ्नो मूल्यमान्यता विपरीत भएका र ती निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले स्वार्थको द्वन्द्व उत्पन्न भएकाले राजीनामा दिएको उनले बताएकी छिन् ।

 

भारतीय चलचित्र आदिपुरूषमा व्यक्त भएका स‌ंवादलाई कारण देखाउँदै साहले काठमाडौं महानगर भित्रका हलमा भारतीय चलचित्र नचलाउन निर्देशन दिएका छन् । अर्यालको परिवारका सदस्य फिल्म हलको व्यवसायमा पनि स‌ंलग्न छन् । जसका कारण उनले स्वार्थको द्वन्द्व उत्पन्न भएको भनेकी हुन् ।

 

महानगरको शिक्षा सल्लाहकार रहँदा आफूले सकेको काम गरेको भन्दै उनले सार्वजनिक शिक्षाकै क्षेत्रमा आफूले काम गर्ने बताएकी छिन् । कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारको लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी र सामाजिक अभियन्तासमेत रहेकी अर्याल टिच फर नेपालको संस्थापक बोर्ड सदस्य र ५ वर्ष अध्यक्ष भएकी थिइन् ।