२०८१ जेठ ५ , शनिवार

इलिप्स स्कुल प्रकरणः वार्डेनविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा, प्रिन्सिपल छुटे

सुनाखरी न्युज/ काठमाडौं।

काठमाडौंको इन्टरनल बोर्डिङ स्कुल (इलिप्स) को छात्रवासमा भएको विद्यार्थी मृत्यु प्रकरणमा पक्राउ परेका प्रिन्सिपल दीर्घहरि दाहाल र शिक्षक पुरुषोत्तम अधिकारी छुटेका छन् ।

प्रहरी वृत्त, लैनचौरले विद्यालयका बार्डेन रायन भन्ने रामप्रसाद सापकोटालाई मात्रै प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ।

 

छात्रवाशको पहिलो तलामा १७ जेठमा मध्यराति १२:४० बजे १२ वर्षीय विद्यार्थी अभिषेक तामाङ मृत अवस्थामा फेला परेका थिए । घटनापछि परिवारले बार्डेन, प्रिन्सिपल र अर्का शिक्षक पुरुषोत्तम अधिकारीले ट्वाइलेट सफा गर्न लगाउने नगरे कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिने जस्ता कार्य गरेकाले बच्चाले आत्महत्या गरेको दाबीसहित प्रहरी कहाँ किटानी जाहेरी दिएका थिए।

तीन जनाविरुद्ध जाहेरी परेपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर, दाहालबाहेकको घटनामा भूमिका नदेखिएको भन्दै प्रहरीले एक जनालाई मात्र प्रतिवादी बनाएको हो ।

 

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालका अनुसार सरकारी वकिलसँग समन्वय गरेर एक जनामाथि मात्र मुद्दा चलाउनुपर्ने देखिएपछि त्यही अनुसार निर्णय भएको हो ।

 

सरकारी वकिलको रोहबरमा वार्डेन सापकोटाले दिएको बयानमा आफूले तामाङलाई कुटपिट नगरेको दाबी गरेका छन् ।

 

घटना हुनुअघि मृतक तामाङका साथी रेमन घिमिरेलाई केही गाली गरेर ‘विस्तारै’ झापड लगाएपनि तामाङलाई आफूले नछोएको उनले दाबी गरेका छन्।

 

उनले जाहेरीमा उल्लेख भए जस्तो कसैलाई मानसिक वा शारीरिक यातना नदिएको पनि दाबी गरेका छन् । उनले विद्यार्थीलाई शौचालय सफा गर्न लगाएको विषय चाहिँ स्वीकारेका छन् ।