२०८१ बैशाख २० , बिहिवार

रोटरी जोर्नो अवार्डबाट राससका अधिकारी पुरस्कृत

सुनाखरी न्युज काठमाडौं । रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ ले यस वर्षको रोटरी जोर्नो अवार्ड राष्ट्रिय समाचार समिति(रासस)का सञ्चालक समितिका सदस्य एवम् आलेख शाखा प्रमुख कृष्ण अधिकारीसहित पाँचजना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

 

नेपालमा परम्परागत चिकित्सा प्रणालीका रुपमा रहेको सोवा रिग्पा उपचार पद्धतिका बारेमा विभिन्न लेख रचना एवं पुस्तकसमेत प्रकाशन गर्नुभएका अधिकारीले स्वास्थ्य क्षेत्रमा पु¥याउनु भएको योगदानस्वरुप सो पुरस्कार प्रदान गरिएको रोटरी जोर्नो अवार्ड समितिले जनाएको छ । पुरस्कारको राशि रु ५१ हजार र प्रशंसापत्र रहेको छ ।

 

पुरस्कृत अन्य पत्रकारमा शिक्षातर्फ प्रकृति अधिकारी, आर्थिक विकासतर्फ रुद्रबहादुर खड्का, महिला तथा सामुदायिक विकासमा रुपनी घर्तीमगर र युवा तथा नयाँ पुस्तामा अस्मिता रिजाल हुनुहुन्छ । आगामी शनिबार आयोजना गरिने कार्यक्रममा पुरस्कार वितरण गरिने जनाइएको छ ।

 

पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घसङ्गठन र देशका १५४ रोटरी क्लबलाई समेत प्रत्यक्ष रूपमा अवार्ड प्रक्रियामा सामेल हुन आग्रह गरिएअनुसार स्वतन्त्र मूल्याङ्कन समितिले पाँच जनालाई विभिन्न विधामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको समितिका अध्यक्ष सुरेश आचार्यले जानकारी दिनुभयो ।रासस