२०८१ जेठ ५ , शनिवार

उपप्राध्यापक प्रेम चलाउने आमरण अनसनमा

सुनाखरी न्युज/ काठमाडौं । आफूमाथि सांघातिक आक्रमण गर्ने नेपाल विद्यार्थी संघ आवद्ध व्यक्तिहरुको मुद्धा फिर्ता लिने सरकारको निर्णयविरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनसन सुरू गर्नुभएको छ ।

 

चलाउने सोमबार साँझदेखि त्रिभुवन विश्वविद्यालय परिसरमा अनसनमा बस्नु भएको हो । सोमबार उहाँ काठमाडौं जिल्ला अदालत परिसरमा अनसन बस्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएर साँझ छाडेको थियो । गत जेठ ३० गतेको मन्त्रिपरिषद बैठकले उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरी ज्यान मार्ने उद्योग गरेको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

२०७७ साल असोज २० गते त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका नेविसंघ इकाई समितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायत सात जनाले उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गरेका थिए । उनीहरु विरुद्धको ज्यान मार्ने उद्योग कसुरको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्धामा अदालतमा मंगलबार पेशी समेत रहेको छ । तर, सरकारले मुद्दा नै फिर्ता लिएपछि न्याय पाउने सबै बाटो बन्द भएको भन्दै चलाउने अनसनमा बस्नु भएको हो ।

आक्रमणकारीहरु विरुद्धको मुद्दा फिर्ता गराउन तत्कालिन महान्यायाधीवक्ता खम्बबहादुर खातीले गत वर्ष जेठ ४ गते नै मन्त्रिपरिषदलाई ‘परामर्श’ दिएको बुझिएको छ ।